काठमाडौं - कुनै समय आर्थिक दृष्टिले पछाडि परेको भनेर चिनिएको कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम तीब्र रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन २०८१र८२ अनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप यसअघिको तुलनामा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भई ७४ अर्ब २८ करोड पुगेको हो । गत अवधिमा यस्तो निक्षेप पाँच दशमलव ४२ प्रतिशतले वृद्धि भई ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको थियो ।
प्रदेशको राजधानी रहेको सुर्खेतमा बैंकहरुको सबैभन्दा धेरै लगानी भएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंकहरूले लगानी गरेको कृषि कर्जामध्ये सबैभन्दा धेरै एक अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा मात्रै भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगु जिल्लामा प्रवाह भएको छ ।
क्षेत्रगत औद्योगिक कर्जाअन्तर्गत कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०र८१ को पुुस मसान्तमा तीन अर्ब ३० करोड २१ लाख रहेको कुल औद्योगिक कर्जा समीक्षा अवधिमा १४ दशमलव ९५ प्रतिशतल वृद्धि भई तीन अर्ब ७९ करोड ५६ लाख पुगेको छ । समीक्षा अवधिमा धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ३२ करोड ३२ लाख औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम एक करोड २८ लाख कर्जा प्रवाह भएको छ ।
प्रतिक्रिया