चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी

सोमबार, ०५ साउन २०८२, १६ : ०३

भरतपुर–चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झन्डै २५ प्रतिशत पर्यटक घटेको हो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷०८२ मा ७५ हजार ५ सय ८ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा चितवन राष्ट्रिय निकुञ्जमा ३ लाख ६ हजार ८ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए ।

गत आर्थिक वर्ष जम्मा २ लाख ३१ हजार ३ सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको हो । १ लाख १७ हजार २ सय ६ जना स्वदेशी थिए । निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको संख्या बढी छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका २४ हजार ८ सय र सार्क बाहेकका देशबाट ८९ हजार ३ सय २३ जनाले निकुञ्ज घुमेका छन् । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् ।

यो महिनामा ३२ हजार २ सय ५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउनमा ७ हजार ३ सय ९ जनाले निकुञ्ज घुमेका छन् । सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको संख्यामा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
 

सोमबार, ०५ साउन २०८२, १६ : ०३

प्रतिक्रिया