काठमाडौं– नेपाल डेरी एसोसिएसनको आयोजनामा श्रावण १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले “ नेपाली खीर प्रवर्द्धन कार्यक्रम – २०८२” आज राजधानीको नयाँ बानेश्वर, थापागाउँस्थित काठमाडौं ब्याङ्गकेटमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले अध्यक्षता गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।
विशेष अतिथिमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुङ्गाना, उपसचिव डा. नवीन घिमिरे, जीवनाथ पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, डेरी क्षेत्रका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले श्रावण १५ का दिनमा परम्परागत आहारका रूपमा मात्रै नभई स्वास्थ्यको दृष्टिकोणले समेत उतिकै लाभदायक रहेको खीर नेपालीहरूको एक मौलिक खाद्य परिकार रहेको बताए । यस अवसरमा अध्यक्षले सम्पूर्ण किसान, उपभोक्ता तथा डेरी व्यवसायी प्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्त्व उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली मौलिक खीर मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताए । उनले यस क्षेत्रको आधुनिककीकरण तथा व्यवसायीकरण रूपान्तरणकारी कार्यले नेपालको दूध तथा दुग्धजन्य पदार्थहरूको अन्तर्राष्ट्रियकरण तथा बजारीकरणमा प्रचुर सम्भावनाको अवसर रहेको औँल्याए । पछिल्लो समय देशमा आन्तरिक उत्पादन र व्यवसायीकरणको अवस्था राम्रो भए तापनि हाल पनि अन्तर्राष्ट्रियकरण शुद्धता र गुणस्तरीय युक्त डेरी प्रोडक्टस् ठूलो मात्रामा आयात हुनु स्थानीय किसान तथा डेरी व्यवसायको लागि दुःखद पक्ष भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डीबी खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यहरू तथा मातहतका वस्तुगत संघका अध्यक्षहरूले श्रावण १५ खीर खाने दिन अर्थात् खीर दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्स, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल, कृषि उद्यम केन्द्रलगायत विभिन्न संस्थाहरूको सहकार्य रहेको थियो । दिउँसो ठीक १२ः४५ बजे सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरूबिच मौलिक खाद्य परिकारको रूपमा रहेको खीरको सांस्कृतिक र पोषणीय महत्वबारे गहन छलफल समेत गरिएको थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दूध तथा दुग्ध पदार्थको प्रवर्द्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र देशभरका घरेलु, साना, मझौला तथा ठुला डेरी उद्योगहरूको छाता संगठनका रूपमा सक्रिय यस एसोसिएसनले नीतिगत सुधारका लागि निरन्तर पहल गरिरहेको छ भने किसान र उद्योगको हकहितमा समेत आवाज उठाउँदै आएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको बैठकले श्रावण १५लाई ‘खीर खाने दिन अर्थात् खीर दिवस ’ दिनका रूपमा मनाउने निर्णय गरेसँगै एसोसिएसनले नेपाली खीर प्रवर्द्धन कार्यक्रम – २०८२ आयोजना गरेको हो । यस अवसरमा एसोसिएसन अन्तर्गत प्रदेश तथा जिल्ला कार्यसमितिहरूले पनि विविध कार्यक्रम गर्ने तयार रहेको जानकारी गराए ।
देशभर श्रावण १५ मा झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ, जसबाट करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
खीर जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छन्। दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन द्य–१२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ। साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने यसको विशेषता हो। नेपाली संस्कृति अनुसार दही शुभ कार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ ।
विद्यालयका साना साना नानीबाबुहरूलाई दूध तथा खीर खुवाएर कार्यक्रमको शुभारम्भ गरियो थियो । प्रत्येक शनिवार निःशुल्क मोही तुल्याउने कार्यमा निःशुल्क दही वितरण गर्ने १६ जना दुग्ध व्यवसायीहरूलाई कार्यक्रममा सम्मानित गरेका थिए । साथै विश्व पारा एथलेटिक्स च्याम्पेनशिप २०२५मा नेपालबाट सहभागी भई सफल खेलाडी प्रभा आङदेम्बे र हिमाल आर्यायलाई समेत उक्त कार्यक्रमको बीच सम्मान गरिएका थिए ।
नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । यस्ता कार्यमार्फत दुग्धजन्य उत्पादनको उपभोग बढाउने, किसानलाई प्रत्यक्ष लाभ पुर्याउने र नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया