काठमाडौं— नेपाली टाइल्स उद्योगमा “आफ्नै माटो, आफ्नै शान” भन्ने नारासहित चार वर्षदेखि क्रियाशील नेपाल सेरामिक इन्डस्ट्री प्रालिले आफ्नो चौथो वार्षिक साधारण सभा विदेशमा—थाइल्यान्डमा—आयोजना गर्ने भएको छ।
नेपोभिट ब्रान्ड अन्तर्गत टाइल्स उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले छोटो समयमै नेपाली टाइल्स बजारमा महत्वपूर्ण स्थान बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टि र स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित रहेर कम्पनीले लगातार नवप्रवर्तन र सेवा विस्तारमा ध्यान दिँदै आएको छ।
कम्पनीको अनुसार, आर्थिक, प्राविधिक र बजार सम्बन्धी चुनौतीका बाबजुद बिक्री तथा ब्रान्ड पहिचानमा उल्लेख्य प्रगति हुन सकेको छ। चालु आर्थिक वर्षमा कम्पनीले निर्धारण गरेको बिक्री लक्ष्य समयमै पुरा भएको भन्दै, उक्त उपलब्धिका लागि सम्मान स्वरूप यसपटकको साधारण सभा थाइल्यान्डमा आयोजना गर्न लागिएको हो।
नेपोभिट टाइल्सका प्रतिनिधिहरूको सहभागितामा हुने यो भ्रमणलाई कम्पनीले केवल उत्सव मात्र नभई भविष्यका थप महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न टिमलाई प्रेरित गर्ने अवसरका रूपमा हेरेको छ।
कम्पनीले आगामी वर्षहरूमा बिक्री र सेवा क्षेत्र विस्तार गर्दै अझ ठूलो लक्ष्य तय गर्ने योजना बनाएको छ। त्यस्ता योजनालाई सार्थक बनाउन यो भ्रमणले टिममा थप ऊर्जा र समर्पण जागृत गराउने विश्वास कम्पनीले लिएको छ।
प्रतिक्रिया