काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र सिल्भर लाइन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए ।
महिलाहरूको स्तन जाँच तथा पाठेघरको मुखको क्यान्सर परीक्षण अन्तर्गत १ सय भन्दा बढी महिलाहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

वृहत् स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा वृहत् स्वास्थ्य परीक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरूलाई आग्रह गरे ।
महिलाहरूले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुने गरी उद्यमी र व्यावसायिक गतिविधि समेत गर्दै अघि बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए । स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १ सय भन्दा बढी महिलाहरूले स्वास्थ्य लाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए ।
साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिने चेम्बरले जनाएको छ ।
प्रतिक्रिया