काठमाडौं— प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जितेको छ।
प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो। यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिका खेलेको कदर गरेको हो।
यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको साङ्ग्रिला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो। प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवार्ड्सले विश्वका प्रतिष्ठित र प्रभावशाली ब्रान्डहरूलाई सम्मानित गर्छ। २०औं वार्षिकोत्सवको अवसरमा गरिएको लिमिटेड एडिसन अवार्डले रचनात्मकता, रणनीति, दीर्घकालीन ब्रान्ड मूल्य र विश्वव्यापी उद्योग नेतृत्वलाई मान्यता दिन्छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव, नवीन सोच र रचनात्मक दृष्टिकोणका आधारमा यो सम्मान प्राप्त गर्न सफल भएको हो। यो नेपालका लागि एक ऐतिहासिक उपलब्धि भएको प्रिज्मा एड्भर्टाइजिङले जनाएको छ।
कार्यक्रममा रञ्जित आचार्यले भने, “यो अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई विश्वस्तरमा उभ्याउने अठोटको प्रमाण हो।
हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्।”
प्रिज्मा एड्भर्टाइजिङ ब्रान्डलरेट अवार्डबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो। यसअघि यो अवार्ड कोका–कोला, नेस्ले, यूनिलिभर, सामसङ, टोयोटा, आइबीएम, जिमी चू लगायत विश्वप्रसिद्ध कम्पनीहरूलाई प्रदान गरिएको थियो।
ओगिल्वी मलेसिया, डेन्ट्सु सिंगापुर, लियो बर्नेट भियतनाम, साथै क्रिस्टियानो रोनाल्डो, नास डेली, निकोल एन डेभिड पनि यस अवार्डका विगतका विजेता रहिसकेका छन्।
महाप्रबन्धक शरद शाहीले भने, “यो पुरस्कारले हाम्रो ३५ वर्षको सिर्जनात्मक यात्रालाई अन्तर्राष्ट्रिय सम्मान दिएको छ। रचनात्मक नेतृत्वमा हाम्रो स्थान अझै बलियो बनेको छ।”
प्रिज्मा एड्भर्टाइजिङले उपभोक्ता सामग्री, सञ्चार, वित्त र प्रविधि क्षेत्रमा सशक्त ब्रान्ड कथाहरू निर्माण गर्दै आएको छ।
सन् १९९१ मा स्थापना भएको, प्रिज्मा एड्भर्टाइजिङ एक पूर्ण ३६० डिग्री रचनात्मक एजेन्सी हो जुन काठमाडौंमा आधारित छ।
यसको पोर्टफोलियोमा कोका–कोला, नेस्ले, बजाज, जोन्सन एन्ड जोन्सन, एनसेल, वेस्टर्न युनियन आदि ब्रान्ड छन्। यसले एनसेलको “मेरो मोबाइल”, राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण फाइनान्सको रिब्रान्डिङ जस्ता प्रमुख अभियानहरू सञ्चालन गरेको छ।
प्रतिक्रिया