काठमाडौं–नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया प्रयोग गरी कमिसनको डिलमा सहभागी भएको विषय हाल मत्थर भएर उर्जा उत्पादक कम्पनीको सेयर निष्काशन प्रक्रिया अघि बढेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीलगायतको अगुवाइमा कमिसन मागिएको विषयमा विरोध भएपछि उनीहरुको रोकिएको सेयर निष्कासन प्रक्रियालाई हाल थोरै भएपनि अघि बढ्न दिइएको हो । इप्पान अध्यक्ष गणेश कार्की लगायतले गरेको विरोधलाई तुहाउन अध्यक्ष श्रेष्ठले १४ वटा कम्पनीलाई सेयर निष्काशन सूचीबाट हटाएका थिए ।
हाल नेपाल धितोपत्र बोर्डले ऊर्जा उत्पादकहरुको सेयर निष्काशन प्रक्रियालाई पूर्ण रुपमा अघि नबढाए पनि आंशिक रुपमा अघि बढाएका छन् । सेयर निष्काशनमा रहेको अवरोध हाललाई केही हदसम्म टरेको ऊर्जा उत्पादकरुको बुझाई छ । तर हाल भएको यस कदम पर्याप्त नभएकाले नीतिगत निर्णय गरेर नै रोकिएका सेयर निष्काशन प्रक्रियालाई पूर्ण रुपमा खुल्ला गरेर लैजानुपर्ने छ ।
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई जोडेर उठाइएको विपयबस्तु भ्रामक र तथ्यहिन भएको भन्दै नेपाल धितोपत्र बोर्डले खण्डन गर्दै आएको छ । लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको धितोपत्र बोर्डले बताउँदै आएको छ । यता, ऊर्जा उत्पादकहरुको संस्था भने सेबोन र ऊर्जा कम्पनीबीच भएको कमिसनको प्रमाण हामीसँग नभएको, उनीहरु प्रमाण लिएर नआएकाले हाल यो विषय त्यत्तिकै तुहिएको बताउँदै आएका छन् ।
ऊर्जा कम्पनी र धितोपत्र बोर्डबिच भएको जुहारी
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बिचौलिया प्रयोग गरेर कमिसनको डिलमा सहभागी भएको आरोप लागेको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान पनि लिएको थियो । प्राथमिक सेयर निष्काशन (आइपीओ) का लागि आवेदन दिएका जलविद्युत लगायत कम्पनीसँग पुँजीका आधारमा ५ देखि ७ प्रतिशतका दरले बिचौलियाहरुले कमिसनको डिल गरेको विषय सतहमा आएको थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की लगायतको अगुवाइमा कमिसन मागिएको विषयमा विरोध भए लगत्तै उनी लगायतका कम्पनीको सेयर निष्काशन प्रक्रिया नै रोकिदिएको थियो । साथै, सेबोन अध्यक्ष श्रेष्ठले १४ वटा कम्पनीलाई सेयर निष्काशन सूचीबाट हटाइदिएको थियो । तर हाल आएर यो विषय करिब–करिब सेलाएको अवस्था छ । धितोपत्र बोर्डले सेयर निष्काशनका लागि सहजीकरण गरिदिएको छ ।
‘सेबोनले पहिला अघि बढ्न नदिएको फाइल हाल अघि बढाउन थालेको छ । रोकिएको सेयर निष्काशनको प्रक्रियालाई सेबोनले अघि बढाउन थालेको हो । तर हाल (सेबोन) ले बढाएको सेयर निष्काशनको प्रक्रिया पर्याप्त नभएकाले नीतिगत व्यवस्था गराएर पूर्ण रुपमा अघि बढाउनुपर्ने छ ।’, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आजको अर्थलाई भने, ‘सेबोन र ऊर्जा कम्पनीसँग भएको विवादको विषय प्रमाणसहित हामीका आएको छैन । संस्थासँग प्रमाण भएन, सम्बन्धित कम्पनीसँग भएको प्रमाण हामी कहाँ आएन । प्रमाण नभएकाले हाललाई अघि बढाएका छैनौं ।’
नेपाल धितोपत्र बोर्डमा २ वर्षदेखि प्राथमिक सेयर निष्काशनको प्रक्रिया रोकिएर बसेको थियो । धेरै सेयर एकैपटक थुप्रिएर बस्दा हाल यो समस्या देखापरेको हो ।
‘धितोपत्र बोर्डका अध्यक्षलाई जोडेर तथ्यहीन र आधारविहिन आरोप लगाएका छन् । लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको छ । आर्थिक लाभ लिने काम गरेको जानकारी भए विवरण लिएर आउनु हामी आफै आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाउन तयार छौं ।’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
पर्याप्त प्रमाण नभएकाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारवाही अगाडी बढाएको छैन । प्रमाणको रुपमा रहेको कल डिटेल, ह्वाट्सएप म्यासेज, अनि अडियो सम्बन्धित निकायसम्म पुगेको तथ्य बाहिर आएपनि यो पर्याप्त नभएको बुझिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) मा ऊर्जा कम्पनीले प्रमाण पेस नगरेकाले हाललाई यो विषय त्यत्तिकै सकिएको छ भने अघि बढाइएको छैन ।
प्रतिक्रिया