काठमाडौं–सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको जनाएको छ । त्यसैगरी सोही दिनबाटै कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पुर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।
नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने ब्यबसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको छ । यस कम्पनीले विगत तीन बर्ष देखि लगातार खुद नाफा आर्जन गर्न सफल भएको बताइएको छ ।
साथै, भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि यो कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीले कार्यक्षेत्र विस्तारको क्रममा भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ ।
प्रतिक्रिया