तिलोत्तमाका युवाले सुरु गरे प्रांगारिक मलको उत्पादन, 'जैको' ब्रान्डमार्फत पर्यावरणमैत्री कृषि अभ्यास

विहीबार, २२ साउन २०८२, १५ : ५४

काठमाडौं- रुपन्देही जिल्लाको तिलोत्तमाका युवाहरूले प्रांगारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्रांगारिक मलको उत्पादन सुरु गरेका हुन् ।

‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ । सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन् । हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ ।

नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो । पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो । जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताए । “यसका लागि अहिलेसम्म रु तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ”, उनले भने । 

रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उनको भनाइ छ । “धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन् । यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ । फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्”, उनले भने ।

‘जैको’ प्राङ्गारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताए । दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

के हो ‘जैको’ मल ?

यो मल एक प्रकारको सतप्रतिशत प्राङ्गारिक मल हो । माटोका लागि अति महत्त्वपूर्ण मानिएको यो मल प्राकृतिक तरिकाले बनाइने कम्पनीका कोषाध्यक्ष सुरेन्द्रकुमार गौतमले बताए । यो मलको प्रयोगबाट बिरुवाको वृद्धि विकास भई उत्पादन पनि प्रशस्त हुने उनले उल्लेख गरे । 

“यसमा गाईभैँसीको गोबर, वनजङ्गका अनावश्यक झारपात (औषधीय गुणले भरिपूर्ण), विभिन्न बालीका अनावश्यक झारपातलगायत वस्तु कुँहाएर प्राकृतिक तरिकाले मल उत्पादन गरिन्छ । यसमा पर्याप्त मात्रामा नाइट्रोजन, फोस्फरस, पोटासियम (एनपिके) र बिरुवाको वृद्धि विकासका लागि आवश्यक सूक्ष्म पोषक तत्वहरू पाइन्छन्”, गौतमले भने ।

प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने माटो विज्ञ एवं कम्पनीका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताए । “यो गन्धरहित, पर्यावरणमैत्री र विषादीरहित बनेको छ । फूलका लागि प्रतिबिरुवा २०० ग्राम, फलफूलका लागि प्रतिबोट एक किलो , तरकारीका लागि प्रतिबोट २०० ग्राम आवश्यक पर्दछ । प्रयोग भएको प्याकेटलाई बन्द गरी सूर्यको प्रकाश र चिसोबाट टाढा राख्नु पर्दछ”, उनले भने ।

यो मलमा भएका खाद्य तत्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले ती तत्वलाई सजिलैसँग प्राप्त गर्ने मगरले जानकारी दिए । यो मलमा भिटामिन, हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अतिआवश्यक पोषक तत्व र जैविक गतिविधि बढाउने सूक्ष्म जीवहरू पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा गुणस्तरीर रहेको उनले दाबी गरे । 

“औषधीय गुण भएका पातपतिङ्गर, फोहर वस्तुबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ । यसले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले उत्पादनमा वृद्धि हुन्छ । साथै माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउछ”, विज्ञ मगरले भने । 

कम्पनीले दैनिक करिब डेढ टन मल उत्पादन गरिरहेको सदस्य शान्ति मगरले जानकारी दिइन् । सुरुआती चरण भएकाले माग अनुसार मल बजारमा पु¥याउन नसकिएको उनको भनाइ छ ।

खेतीको याममा बढी खपत हुने भएकाले मागअनुसार अपूर्ति गर्न नसकिएको कम्पनीका अध्यक्ष यमबहादुर थापाले बताए । उनका अनुसार जैको मल रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी र स्याङ्जामा खपत हुने गरेको छ ।

विहीबार, २२ साउन २०८२, १५ : ५४

प्रतिक्रिया