नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच पारस्परिक लाभ प्रवर्द्धन गर्ने विषयमा छलफल

बुधबार, २८ साउन २०८२, १० : ३६

काठमाडौं नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।

आईआरजीडीडीका अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेने बीच द्विपक्षीय छलफल भएको हो।

स्पेन र ओमानका लागि पूर्व राजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान, र थप विषयमा कुराकानी गरेका हुन् ।

उक्त अवसरमा डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका उपाध्यक्ष कालीप्रसाद पोखरेल र द डिप्लोम्याट नेपालका प्रकाशक विमल ढकालको पनि उपस्थिति रहेको थियो ।

आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैर–पक्षीय, र गैर–नाफामुखी थिंक ट्यांक हो । यो संस्था बृहत् रूपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाह मार्फत नवप्रवर्तनलाई बढवा दिन समर्पित रहेको छ । यसले सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ । साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान, र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रूपमा काम गर्दछ ।

स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितको प्रतिनिधित्व, प्रवर्द्धन र रक्षा गर्ने सार्वजनिक (सरकारी) संस्था हो । यसले स्पेन भित्र र अन्तर्राष्ट्रिय रूपमा चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व पनि गर्दछ । उक्त संस्थाले स्पेन र विदेशमा व्यवसायहरूबीच सहकार्यलाई बढवा दिने लक्ष्य राखेको छ।

 
बुधबार, २८ साउन २०८२, १० : ३६

प्रतिक्रिया