काठमाडौं– ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएस साझेदार सम्मेलन आयोजना गर्दै संस्थासँग सम्बन्धित थुप्रै साझेदारलाई सम्मान गरेको छ।
साउन ३० गते आयोजना भएको कार्यक्रममा आइइएलटीएस परीक्षामा उत्कृष्ट योगदान दिने साझेदारहरुलाई सम्मान गरिएको थियो । कूल २० वटा अवार्ड दिइएकोमा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रूपमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालि, र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रूपमा इक्यानलाई सम्मान गरिएको थियो।
ब्रिटिस काउन्सिलले आइइएलटीएस व्यवसायिक साझेदारलाई सम्मान गर्न ग्लोबल च्यानल पार्टनर अभियान पनि शुभारम्भ गरेको छ। यस अभियानले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारलाई आर्थिक सहायता र संयुक्त अधिराज्यको लन्डनस्थित मुख्यालयमा हुने समापन समारोह तथा शैक्षिक भ्रमणमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
ब्रिटिस काउन्सिलले टर्किस एयरलाइन्स, पठाओ र सफारीको सहकार्यमा उपहार अभियानको तेस्रो संस्करण पनि सुरु गरेको छ। यसमा विद्यार्थीहरूले परीक्षाको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्ने मौका पाउनेछन्। बम्पर उपहारमा टर्किस एयरलाइन्सको चार एकतर्फी हवाइ टिकट, पठाओ रेस्टुरेन्ट राइड तथा फुड भौचर, तथा सफारीको विशेष सुटकेश समावेश छन्।
अभियान शुभारम्भको क्रममा नेपालस्थित बेलायती राजदूत महामहिम रोब फेनले भने,“बेलायतको विश्वस्तरिय शिक्षा प्रणालीले कुनै पनि व्यक्तिको जीवनमा रुपान्तरण गर्न सक्ने अवसर सृजना गरेको छ र यसअघिका बर्षहरुमा भन्दा बढी नेपाली विद्यार्थीले आफ्नो पढाइका लागि बेलायतलाई रोजिरहेको देख्न पाउनु उत्साहजनक क्षण हो । यो वृद्धिले विश्वव्यापी रुपमा नेपाली विद्यार्थीको योग्यतालाई मान्यता दिलाउन अथक प्रयास गरेका नेपालका हाम्रा शैक्षिक साझेदारहरुको समर्पण र व्यवसायिकतालाई प्रतिबिम्वित गरेको छ । शैक्षिक क्षेत्रलाई सबल तुल्याउन तथा नेपालको समृद्धिमा योगदान गर्न र आफ्नो व्यक्तिगत चाहना र लक्ष्य प्राप्तिका लागि नेपाली युवाहरुलाई आवश्यक सीप, ज्ञान र अनुभव सुनिश्चित गर्न हामी ब्रिटिस काउन्सिल र नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिवद्ध छौं ।”
कार्यक्रम आयोजनाप्रति आभार प्रकट गर्दै ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्, “हाम्रा सबै साझेदार र सरोकारवालाहरुलाई उनीहरुको उत्कृष्ट कार्यसम्पादन र ब्रिटिस काउन्सिललाई गरेको सहयोगलाई उत्सवको रुपमा मनाउन एकै ठाउँमा भेला गर्न पाउनु हाम्रो लागि गौरवपूर्ण क्षण हो । उनीहरुको समर्पणले नेपाली युवाहरुलाई सशक्तिकरणमार्फत रुपान्तरणमुखी अवसरको ढोकाहरु खोलेका छन्, त्यसैले हामी मिलेर उनीहरुको उज्ज्वल भविष्य निर्माण गरिरहेका छौं ।”
प्रतिक्रिया