काठमाडौं- नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा ‘नाडा अटो शो– २०२५’ आज भदौ ३ गतेबाट उद्घाटन भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यो प्रदर्शनी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीको उद्घाटन समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका अध्यक्ष चन्द्र ढकालको पनि सहभागिता रहेको थियो ।
‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना गरिएको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले यस क्षेत्रले हाल नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको जानकारी दिए ।

‘नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटोमोबाइल्स सेक्टरको प्रतिनिधित्व गर्छ‘, अध्यक्ष चौधरीले भने, ‘हामी सीप र रोजगार दुवै सिर्जना गर्छौँ ।’
उनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट पछिल्लो १० वर्ष यता नदेखेको बजेट भएको भन्दै अर्थमन्त्री पौडेलको प्रशंसा समेत गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोमा ल्याइएको ह्युमनोइड रोबोटको प्रशंसा गरे । अहिले विकास भईरहेका प्रविधिहरु कुनै समय इतिहास बन्ने भन्दै उनले आजको रोबोटिक क्रियाकलापहरु धेरैपछिको पुस्तालाई ‘यस्तो रोबोट पनि थियो रे’ भन्ने लाग्ने बताए । आजभोलि स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुदाउने गरेको ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताए । “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । ” उनले भने, “उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तरराष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान गर्नुहोस् ।”

प्रविधिको विकाससँगै नयाँ नयाँ गाडीका मोडेलहरु बजारमा आईरहेको र यसका लागि सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले नाडाले अटोमोबाइलको क्षेत्रमा धैरे ठुलो योगदान गरिसकेको र अझै पनि सकारात्मक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । साथै नाडाको अध्यक्ष पदमा एकदमै सही व्यक्ति रहेको भन्दै अध्यक्ष करण चौधरीको प्रशंसा गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । बजारमा सवारी साधनको माग बिस्तारै बढिरहेको भन्दै ढकालले दुई वर्षअघिको तुलनामा ४० प्रतिशत बढी सवारी बिक्री हुने आंकलन गरिएको बताए ।
उनले केही वर्षदेखि अर्थतन्त्र राम्रो हुन नसकेको बताउँदै अब भने सरकारले निजी क्षेत्रले मौद्रिक नीति तथा बजेटका लागि दिएको सुझावलाई सकारात्मक रुपमा लिएको र सोही अनुरुप बजेट र मौद्रिक नीति बनाएकोले यसका कारण अर्थतन्त्रले गति लिने बताए ।
आजबाट सुरु भएको नाडा शोको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् ।
यस वर्षको नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी भएका छन् ।
प्रतिक्रिया