दराज नेपालको सातौं वार्षिक सेलर सम्मिट सम्पन्न, उत्कृष्ट २२ विक्रेता तथा एफिलिएट सम्मानित

बुधबार, ०४ भदौ २०८२, १५ : ५१

काठमाडौं- अनलाइन मार्केटप्लेस दराज नेपालले ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट सम्पन्न गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागितामा समापन भएको हो । 

सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ ।  यस वर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

“दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ । ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले प्रस्तुति दिँदै भने । 

कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।

कार्यक्रममा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित पनि भएका छन ।

कम्पनीका अनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उनीहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल भएका छन् ।

दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको देखिन्छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
 

 
बुधबार, ०४ भदौ २०८२, १५ : ५१

प्रतिक्रिया