काठमाडौंमा चौथो मिलाप तीज समारोह सम्पन्न

विहीबार, ०५ भदौ २०८२, १३ : ३८

काठमाडौं- ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा सम्पन्न भएको छ । 

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्द रहेका थिए भने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल विशेष अतिथि रहेका थिए । 

प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको धारणा राखिन् । ‘तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उनले भनिन् ।

त्यसैगरी, उपमेयर डंगोलले तीज महिलाहरूलाई सशक्त बनाउन सक्ने पर्वका रूपमा व्याख्या गरिन् । ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उनको भनाइ थियो ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ‘तीज मिलाप सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत रहेका थिए । 

कार्यक्रममा सांस्कृतिक प्रस्तुतीमा नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए । यसले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । दिदीबहिनीहरूले तीजको परम्परागत भेषभूषामा रमाइलो गर्दै गीतमा नाच्दा वातावरण उल्लासपूर्ण बनेको थियो ।

कार्यक्रमकी सभापति गीता अधिकारीले विगत १५ वर्षदेखि निरन्तर मिलाप मासिक प्रकाशन हुँदै आएको जानकारी गराउँदै नेपाली नारीको महान् पर्व तीजलाई पनि विगत चार वषदेखि निरन्तर उत्सवका रूपमा मनाउँदै आएको बताइन् । ‘यस किसिमको आयोजनाको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्नु हो’, उनले भनिन् । अधिकारीले कार्यक्रममा सहकार्य र सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक कार्यक्रम गर्ने योजना रहेको जानकारी दिइन् ।

यस वर्षको उत्सवलाई अभियान्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’ अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए । 

उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन् । अभियानमार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन् । फाउण्डेशनले यसपटक मिलापको तीज उत्सवलाई प्रायोजनसमेत गरेको थियो, जसले मनोरञ्जन क्षेत्रका दर्शकमाझ पनि अभियानलाई जोड्ने प्रयास गरेको हो ।

 
विहीबार, ०५ भदौ २०८२, १३ : ३८

प्रतिक्रिया