काठमाडौं- नारायणी डेभलपमेन्ट बैंक लिमिटेड लिमिटेडले असोज २ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
जस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेकोले भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद शेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया