काठमाडौं- स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सेयर निष्कासन गर्नका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्कासन गर्नेछ ।
दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो। कम्पनीले हाल कम्पनीको नाममा रहेको धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ३५ वटा गाईहरुबाट दैनिक २०० लिटर भन्दा बढी दुग्ध उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ।
कम्पनीले निकट भविष्यमा ६५ वटा गाईहरु थप गरी १०० वटा गाईहरु पुर्याउने उद्देश्यले सेड तयार बनाई सकेको छ । कम्पनीले निकट भविष्यमा प्याकेजिङ उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया