तरकारी बेचेर जीविकोपार्जन, लाखौं रुपैयाँ कमाउँदै पाल्पाका महिला

मंगलबार, २४ भदौ २०८२, ०८ : ४१

पाल्पा– डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी यही हो ।” 

मदन पोखराकी सीता कुमाल पनि सिजनमा तरकारीको भारी बोकेर तानसेन बजार पुग्ने गर्छिन् । उनी बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे गाउँबाट निस्किन्छन् । ‘तरकारी आयो तकारी आयो’ भन्दै टोलटोल पुग्नुहुन्छ । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्, “तर, गुजारा गर्न यत्ति गर्नै प¥यो ।”

तानसेन नगरपालिका–११ बाँझाकी ३८ वर्षीया राधिका खाँती पनि दिनहुँजसो घरबाट तरकारी ल्याएर तानसेनस्थित शीतलपाटी नजिकै मन्दिर छेउमा बसेर बिक्री गर्छिन् । तरकारी बिक्री गरेर आएको पैसाले सहज रूपमा उनको घर खर्च चलेको छ । 

“आम्दानीको स्रोत नहुँदा केही समयअघिसम्म घर खर्च चलाउन निकै गाह्रो थियो”, उनले भनिन्, “घर खर्चका लागि श्रीमान्को मुख ताक्नु पर्दथ्यो । तरकारी बेच्न थालेपछि श्रीमान्बाट घर खर्च माग्नु परेको छैन ।”

खाँती आफैँले फलाएको र केही अन्य किसानले उत्पादन गरेको तरकारी संकलन गरी तानसेनमा ल्याएर बिक्री गर्दै आएकी हुन् । खाँतीले तरकारी बेचेर अहिले मासिक लाखौँ रुपैयाँ कमाउन थालेकी छिन् । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उनी बनेकी छन् । 

लकडाउपछि शीतलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफूल बिक्री गर्दै आएकी हुन् । उहाँले तरकारी बिक्रीबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने जानकारी दिनुभयो । तरकारी बिक्रीबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन, खर्च खर्च तथा चार जनाको परिवार चलाउन सहज भएको उहाँको भनाइ छ ।

खाँतीलाई श्रीमान्ले तरकारी संकलनमा दैनिक सहयोग गर्दै आएका छन् । “तरकारी बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको थियो”, उनले भनिन्, “अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुञ्जेल यही काम गर्ने हो ।” राधिकाका अनुसार अर्गानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भीड लाग्ने गर्दछ । प्रायः बजार गर्न आउने र अफिसबाट फर्कनेहरुले तरकारी किनेर लैजाने गरेको उनको भनाइ छ । 

राधिकाले झैँ आफ्नै बारीमा फलेका र अन्य कृषकद्वारा उत्पादित तरकारी बेचेर कुरुङखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आएका छन् । उनले विगत डेढ दशकदेखि सडक पेटीमा तरकारी बेचेर घर खर्च चलाउँदै आएका हुन् । उनले पनि दैनिक रु एक हजारदेखि रु तीन हजारसम्म आम्दानी गर्छन् । उनीहरू मात्र होइन बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्छिन् । तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको महिला बताउँछन्  । 

 
मंगलबार, २४ भदौ २०८२, ०८ : ४१

प्रतिक्रिया