नेपाल डेरी एसोसिएसनले असोज ८ गते ११औं विश्व स्कुल दुध दिवस मनाउने

मंगलबार, ०७ असोज २०८२, १६ : ०९

काठमाडौं- बालबालिकाको शारीरिक र मानसिक विकासका लागि दूध अनिवार्य मानिने भएकाले विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व स्कुल दुध दिवस मनाइन्छ । सन् २००० देखि सुरु भएको यो दिवस नेपालमा भने नेपाल डेरी एसोसिएसनको पहलमा वि.सं २०७२ सालदेखि मनाउन थालिएको हो ।

यस वर्ष विश्वमा २५औं र नेपालमा ११औं विश्व स्कुल दुध दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइँदैछ । 

यस अवसरमा नेपाल डेरी एसोसिएसनले काठमाडौंको हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलमा “दुध पान कार्यक्रम” आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी असोज ८ गते बुधबार बिहान १२ः१५ मा सुरु हुने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले यस वर्षको विश्व स्कुल दुध दिवस “बालबालिकाको स्वास्थ्य तथा उज्ज्वल भविष्य, दैनिक दूध अनिवार्य” भन्ने नाराका साथ मनाउने भएको छ । 

कार्यक्रममा देशभरका प्रदेश तथा जिल्ला कार्यसमितिहरूले समेत विविध सचेतना कार्यक्रम आयोजना गर्ने भएका छन् । पछिल्लो तथ्यांकअनुसार, नेपालमा प्रति व्यक्ति वार्षिक दूध सेवन ७५ लिटर मात्र रहेको छ भने न्यूनतम ९२ लिटर पुग्नुपर्ने देखिएको छ । 

यसका लागि विशेषगरी बालबालिकालाई दैनिक दूध सेवन गर्न विद्यालय, शिक्षक, अभिभावक र सरोकारवालाहरू सबै सचेत रहनुपर्नेमा जोड दिइएको छ ।

दूध एक सम्पूर्ण आहार हो, जसमा प्रोटिन, क्याल्सियम, भिटामिन, खनिजलगायत शरीरलाई आवश्यक पर्ने प्रमुख पोषक तत्वहरू पाइन्छन् । यो विशेषगरी गाई, भैंसी, बाख्रा आदिबाट प्राप्त हुन्छ । मानव जीवनमा दूधको महत्वलाई गौण वा उपेक्षा गर्न सकिदैंन यसको उपयोगले मानव शरीरका हड्डी र दाँतको मजबुतीका लागि  क्याल्सियम र फस्फोरसले प्रदान गर्दछ । दूधले कार्बोहाइड्रेट र फ्याट प्रदान गर्छ, जसले शरीरलाई ताजा र ऊर्जावान राख्छ । 

 
मंगलबार, ०७ असोज २०८२, १६ : ०९

प्रतिक्रिया