दशैंमा काठमाडौं नजिक घुम्न लायक ठाउँहरु (जानकारीसहित)

मंगलबार, १४ असोज २०८२, ०७ : ०४

काठमाडौं–घटस्थापना सुरु भएसँगै दशैंको माहोल भव्यरुपमा सुरु हुन्छ । दशैं सुरु भएसँगै काठमाडौं उपत्यका सुनसान हुन्छ । लाखौं उपत्यकाबासी दशैं मनाउन आफ्नो गाउँघर फर्कन्छन् । पछिल्लो समय नेपालीहरू दशैं, तिहार र छठ पर्वलगायतको लामो बिदामा परिवार एवं साथीसंगीसँग घुम्न जाने गरेका छन् । कामको व्यस्तताले गर्दा लामो समय कतै पनि धुम्न नगएका व्यक्तिहरूले दशैंमा घुम्नको लागि विशेष योजना बनाउने गर्छन् ।

परिवारको साथमा होस् या साथी भाई तथा आफन्तको साथमा दशैंमा घुम्ने योजना धेरै मानिसहरूले बनाएका हुन्छन् । काठमाडौंमा रहेका व्यक्तिहरूले वरपर रहेका रमणीय ठाउँ घुम्न जाने योजना बनाएका हुन्छन् भने दशैं मनाउन गाउँ गएका मानिसहरूले पनि घुम्नको लागि योजना बनाएका हुन्छन् । दशैं मात्र एक यस्तो पर्व हो जतिबेला परिवार आफन्त अधिक मात्रामा भेट हुने गर्छ । तर काठमाडौंबाट केही नजिक ठाउँहरू घुम्नको लागि निकै रमणीय छन् । जहाँ पनि पुगे पनि भरपुर रुपमा रमाईलो गरेर फर्केका छौँ । 

सुकुटे
काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो । यो ठाउँ विशेषगरी ¥याफ्टिङका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ । अहिले सुकुटे एड्भेन्चर हबकै रूपमा विकास भइसकेको छ । ¥याफटिङसँगै बन्जी, क्यानोनीङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ह्याम्मक केबलकार, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ सुकुटेका आकर्षण हुन् । एक दिनमै धेरै एड्भेन्चरको मजा लिन सकिन्छ र काठमाडौं फर्किन सकिन्छ । बस्न र खान सुनकोशी र भोटेकोशीको बगरभरि रेस्टुरेन्टहरू छन् । खोलाको बगरमा टेन्टमा बस्न पनि पाइन्छ ।

धुलिखेल
काठमाडौं उपत्यकामा बस्नेहरूका लागि धुलिखेल पहिलो नम्बरमै पर्ने पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन । काठमाडौंबाट ३१ किलोमिटर दुरीमा रहेको धुलिखेलमा पिकनिक जानेहरू पनि धेरै हुन्छन् । यहाँ नमोबुद्ध, हजार सिँढी घुम्न र जिपलाइनमा रमाउन जान सकिन्छ । त्यस्तै गणेश, लाङटाङ, ल्होत्से, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ । एक दिन बस्ने हो भने यहाँ साना–ठूला सबै खाले होटल पर्याप्त छन् । बिहान हाइकिङ गर्न सकिने ठाउँ पनि छन् । धुलिखेल परिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।

बेथानचोक
काभ्रेको बेथानचोक पछिल्लो समय रूचाइएको ठाउँ हो । काठमाडौंबाट ४४ किलोमिटर दुरीमा रहेको बेथानचोक एक दिन बसेर फर्किँदा उपयुक्त हुन्छ । तीन घन्टा गाडीमा यात्रा गरेर पाँच घन्टा पदयात्रा गरेपछि बेथानचोक पुगिन्छ । यहाँबाट सगरमाथा, धौलागिरि, मकालु, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा लगायत हिमाल नजिकबाट देखिन्छ । यहाँ जानेहरूले क्याम्पिङको मजा लिन सक्नेछन्। सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ रमाइलो छ ।

नगरकोट
काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोट सूर्योदय हेर्ने ठाउँका रूपमा प्रख्यात छ । नगरकोटबाट धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायत हिमाल देखिन्छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा साना–ठूला सबै खाले होटल छन् । यहाँ एक वा दुई दिनसम्म बिताउन सकिन्छ । अहिले नगरकोटमा साहसिक खेल जिपलाइन पनि चल्न थालेको छ ।

भोटेचौर
सिन्धुपाल्चोकको भोटेचौर पनि लोकप्रिय गन्तव्य हो । यो चिया बगान मिनी इलाम नामले परिचित छ । काठमाडौंबाट ३८ किलोमिटर दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरतामा रमाउने र फोटो खिचेर आनन्द लिनेहरूका लागि रमाइलो हुन सक्छ । भोटेचौर जान चाबहिलबाट सार्वजनिक गाडी पाइन्छ । करिब दुई घन्टामै पुगिन्छ । बस्न र खान सुविधासम्पन्न होटलहरू छन् । 

ककनी
नुवाकोटको ककनी पनि काठमाडौं नजिकैको चर्चित पर्यटकीय स्थल हो । काठमाडौंबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्यूटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन् । यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगल लगायत हिमाल देखिन्छ । यहाँ गएर एक दिनमै फर्किन सकिन्छ । बस्न चाहे थुप्रै होटलहरू छन् । हाइकिङका लागि पनि ककनी प्रसिद्ध छ ।

चिसापानी
काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चिसापानी हाइकिङका लागि प्रसिद्ध छ । सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै हाइकिङ गर्न सकिन्छ । आफ्नो सवारी साधनमा पनि पुग्न सकिन्छ । यहाँको आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज, धाप ड्याम, हैबुङ हुन् । त्यस्तै गौरीशंकर, लाङटाङ लगायत हिमाल देख्न सकिन्छ । हाइकिङ जाने हो भने चिसापानीबाट नगरकोट हुँदै काठमाडौं फर्किने रूट पनि छ । चिसापानीबाटै फर्किने हो वा त्यहीँ रात बस्ने हो भने होटलहरू पनि छन् ।

सिम्बा फल
सिम्बा फल अर्थात् सिम्बा झरना खोला, जंगल र झरनामा रमाउनेका लागि यो उपयुक्त ठाउँ हुन सक्छ । सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेलको खावा भञ्ज्याङ र वडा नम्बर २ को रिगिन खोलामा पर्छ । यो झरनामा प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ । सिम्बा फल काठमाडौंबाट एक दिनमै पुगेर फर्किन सकिन्छ । ललितपुरको सातदोबाटोबाट चापागाउँ, लेले, भारदेव, चौघरे, गोटिखेल हुँदै मानिखेल पुगिन्छ । मानिखेलबाट रिगिन दोभान हुँदै हिँडेर करिब एक घन्टाभन्दा कम समयमै झरना पुगिन्छ ।

चित्लाङ
मकवानपुरको चित्लाङ चिसोको आनन्द लिने ठाउँ हो। काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चित्लाङमा बस्नका निम्ति होटल तथा होमस्टेको व्यवस्था छ । अहिले चित्लाङमा साहसिक खेल पाराग्लाइडिङको पनि मजा लिन सकिन्छ । चन्द्रगिरिको जंगलबाट पाराग्लाइडिङ गर्दै चित्लाङ पुगिन्छ । 

कुलेखानी
एक दिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो। काठमाडौंबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन् । कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ। दुई दिनको योजना बनाउने हो भने कुलेखानीबाट भोलिपल्ट बिहान हाइकिङ गर्दै मोहिनी झरना पनि जान सकिन्छ । कुलेखानीमा बस्न र खान सुविधायुक्त होटलहरू छन्। यस्तै यहाँ माछाका परिकारको स्वाद लिन पाइन्छ ।

चन्द्रागिरि
चन्द्रागिरि समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइसकेको छ । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । यतिमात्र होइन, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो, जहाँ सुविधा सम्पन्न होटलसमेत रहेको छ । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् । 

फुलचोकी
फुलचोकी समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ । 

शिवपुरी
शिवपुरी समुद्री सतहबाट २ हजार ५ सय ६३ मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागाअर्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा अहिले धेरैको गन्तव्य स्थान बनेको छ । बूढानीलकण्ठ पानीको मुहानबाट निकुञ्ज प्रवेश गर्दै शिवपुरी डाँडा जान सकिन्छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृङ्खलाको सुन्दर दृश्य साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधासम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ । 

सुन्दरीजल
सुन्दरीजल काठमाडौंभित्र पर्ने अर्को घुम्न लायक गन्तव्य हो सुन्दरीजल । नाम जस्तै सुन्दर छ यो ठाउँ । काठमाडौंभन्दा अलिक माथि पर्ने यस ठाउँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा रहेको यस ठाउँलाई धेरैले आफ्नो घुम्ने गन्तव्य बनाएका छन् । सुन्दरीजल पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरू उपलब्ध छन् । 

लाँकुरी भञ्ज्याङ
लाँकुरी भञ्ज्याङ ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथै लाँकुरी भञ्ज्याबबाट उपत्यकाका तीनवटै शहरको विहंगम दृश्य देख्न सकिन्छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडि गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ । यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरू पनि प्रसस्तै छन् । 
 

मंगलबार, १४ असोज २०८२, ०७ : ०४

प्रतिक्रिया