मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, ३० असोज २०८२, १० : ०४

काठमाडौं- मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ।

बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज असोज ३० गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १५ गते आयोजना गर्दैछ। सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा बिहान १० बजे बोलाइएको छ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छन्।

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

विहीबार, ३० असोज २०८२, १० : ०४

प्रतिक्रिया