आजदेखि छठ सुरु

शनिबार, ०८ कार्तिक २०८२, ०८ : ०३

जनकपुरधाम- मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । 

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ ।

शनिबार, ०८ कार्तिक २०८२, ०८ : ०३

प्रतिक्रिया