अपडेट

बञ्चरेडाँडा ल्याण्डफिलको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

आइतबार, १६ कार्तिक २०८२, १२ : ३४

काठमाडौं- ४ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । 

आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिएका छन् । 

कुलमान घिसिङ सहित आज बिहानै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । 

ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।  

शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो । 

काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।

ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।

 
आइतबार, १६ कार्तिक २०८२, १२ : ३४

प्रतिक्रिया