जेटीसीसीको नवौँ बैठक काठमाडौंमा सम्पन्न

सोमबार, १७ कार्तिक २०८२, १७ : ०३

काठमाडौं- नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीचको संयुक्त प्राविधिक समन्वय संयन्त्र (Joint Technical Coordination Committee - JTCC) को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।

बैठकको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रमा रहेका अन्तरदेशीय सरोकारका विषयमा प्राविधिक समाधान र परिणाममुखी संवादका लागि ‘जेटीसीसी’ संयन्त्र प्रभावकारी प्लेटफर्मको रूपमा स्थापित भएको बताए। उनले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासहरूको आदान–प्रदानमार्फत दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा डेपुटी गभर्नर बमबहादुर मिश्रको पनि उपस्थिति रहेको थियो।

सोही अवसरमा भारतीय रिजर्भ बैंकका कार्यकारी निर्देशक तथा ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले संयन्त्र स्थापनापछि मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार, भुक्तानी कारोबार र वित्तीय समावेशीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए। उनले नेपाल–भारतबीचको केन्द्रीय बैंक स्तरको सहकार्य अझ सबल हुने विश्वास व्यक्त गरे।

बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक एवम् संयोजक राजन विक्रम थापाले स्वागत मन्तव्य दिँदै संयन्त्रलाई आगामी दिनमा अझ परिणाममुखी बनाउन आवश्यक रहेको धारणा राखेका छन् ।

बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका अधिकारीबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायत विषयमा गहन छलफल भएको थियो। सो क्रममा अघिल्लो (आठौँ) बैठकमा छलफल भएका एजेण्डाहरूको कार्यान्वयन प्रगतिबारे पनि समीक्षा गरिएको थियो।

बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल र निश्चल अधिकारीलगायतको सहभागिता थियो। भारतीय पक्षबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धक लथा राधाकृष्णन, सास्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिलको उपस्थिति रहेको थियो।

बैठकपछि भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रमबारे कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः प्रस्तुति दिए । 

स्मरणीय छ, नेपाल–भारतबीच बैंकिङ तथा वित्तीय प्रणालीका विषयमा सहकार्य र समन्वय बढाउने उद्देश्यले सन् २०१६ मे १३ मा ‘जेटीसीसी’ गठन गरिएको थियो।

 
सोमबार, १७ कार्तिक २०८२, १७ : ०३

प्रतिक्रिया