अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को समयमा वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न भनिएपछि शनिवार १४ सय भन्दा बढी उडान र अवतरण रद्द भएका छन्।
फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’का अनुसार करिब शनिवार छ हजार उडानहरू ढिलाइ भए। त्यसअघि शुक्रवार सात हजार भन्दा बढी उडान प्रभावित भएका थिए।
सङ्घीय उड्डयन प्रशासन (एफएए) ले साताको सुरुमा गरेको घोषणामा देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने बताइएको थियो।
एअर ट्राफिक कन्ट्रोलरहरूले शटडाउनका कारण बिना तलब काम गर्नु परेको र उनीहरूको थकानलाई ध्यान दिएर त्यसो गर्नु परेको उसको भनाइ छ।
रिपब्लिकन र डेमोक्र्याट पार्टी अक्टोबर १ तारिकदेखि जारी गतिरोध अन्त्य गर्ने विषयमा विभाजित छन्।
यात्रुहरू मर्कामा
माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल हुँदा त्यहाँ ‘गभर्न्मन्ट शटडाउन’ को अवस्था उत्पन्न भएको हो। जसले गर्दा धेरै सरकारी कामकाज अस्थायी रूपमा स्थगित भएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एक अर्कामाथि दोष लगाएका छन्।
अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म भएको यो शटडाउन अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी सिनेटरहरू सप्ताहान्तमा पनि छलफलमा छन्।
बिबिसी
प्रतिक्रिया