काठमाडौं- देशभर इन्टरनेट सेवाको उपयोग र माग तीव्रगतिमा बढ्दै गएको सन्दर्भमा नेपाल टेलिकमले विद्यार्थीवर्गका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने विशेष योजना “NT Fiber Vidhyarthi Offer (एनटी फाइबर विद्यार्थी अफर)” सञ्चालनमा ल्याएको छ ।
आज कार्तिक २३ गते नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले आर्थिक रुपमा कमजोर विद्यार्थीहरूका लागि सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्न टेलिकमले चालेको कदम सराहनीय रहेको बताए। उनले जनतालाई सुसूचित राख्ने र सम्पर्क सञ्जाल बलियो बनाउन टेलिकमले खेलेको भूमिका उल्लेखनीय भएको भन्दै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशन समेत दिए।
यस अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव तथा टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले टेलिकमले नाफाभन्दा पनि सेवा र जनहितलाई प्राथमिकतामा राख्दै अघि बढेको बताइन् । उनले सेवासँगै राजश्व अभिवृद्धिका सम्भावना पहिचान गरी दुवै पक्ष सन्तुलित रूपमा अघि बढ्नुपर्नेमा जोड दिइन्।
नेपाल टेलिकमका अनुसार यो अफर आजदेखि माघ २२ गतेसम्म मात्र उपलब्ध हुनेछ। यस अन्तर्गत विद्यार्थीहरूले रु. ४,९९९ (करसहित) मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्नेछन्। साथै, जडान शुल्क रु. ५०० थप लाग्नेछ। विद्यार्थीहरूले १ थान Dual Band CPE र १०० मिटर ड्रप फाइबर नि:शुल्क पाउनेछन्।
अफर प्राप्त गर्नका लागि विद्यार्थीले १९८ मा सम्पर्क गरी Demand Portal मार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिन सक्नेछन्।
आवेदनका लागि आवश्यक कागजातहरू:
यो अफर अन्तर्गत प्रदान गरिएको FTTH Package को अवधि समाप्त भएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न सकिने छैन। सेवा निरन्तरता चाहने विद्यार्थीहरूले टेलिकमका अन्य प्याकेजहरूमध्ये उपयुक्त विकल्प छनोट गर्न सक्नेछन्। प्याकेज नवीकरण नगर्नेले प्रारम्भमा प्राप्त गरेको CPE भने फिर्ता गर्नुपर्नेछ।
विस्तृत जानकारीका लागि टेलिकमको वेबसाइट www.ntc.net.np वा ग्राहक सेवा नम्बर १९८ मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया