मेलम्ची अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिका अध्यक्षलाई आग्रह

सोमबार, २४ कार्तिक २०८२, १३ : १५

काठमाडौं- शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाइदिन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई आग्रह गरेका छन् ।

सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन्। विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राख्दै आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी खानेपानी आउन रोकिएको छ । 

प्रधामन्त्री सुशीला कार्कीले आज नै मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।

मन्त्री घिसिङले विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन अध्यक्ष शेर्पालाई आग्रह गरे। उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताए।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने प्रष्ट माग राखेका छन् । आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने माग स्थानीयका छन् । 

तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।

 
सोमबार, २४ कार्तिक २०८२, १३ : १५

प्रतिक्रिया