काठमाडौं- बागलुङ जिल्लामा पछिल्लो तीव्र गतिमा डेंगी संक्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेंगी संक्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा संक्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेंगी संक्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । संक्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उनले बताए ।
घिमिरेका अनुसार दसैँ र तिहार पछाडि संक्रमितको सङ्ख्या बढेको बताए । “संक्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति संक्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा संक्रमित भेटिएका छन्”, उनले भने, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।”
डेंगी संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया