यूकेका प्रधानमन्त्री किअर स्टार्मरलाई लेबर पार्टीको नेतृत्वबाट हटाउन आफ्नै सांसदहरूले गर्न सक्ने प्रयासको स्टार्मरले प्रतिकार गर्ने उनका सहयोगीहरूले बताएका छन्।
अबको १५ दिनपछि पेस हुने बजेटलगत्तै स्टार्मरको पद जोखिममा पर्ने सक्ने डर उनका सहयोगीहरूमा उत्पन्न भएको छ।
आलोचकहरूले यो डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालय ‘पूरै प्रतिरक्षात्मक’ बनेको प्रमाण भएको भन्दै त्यसले सरकारलाई ‘सङ्कटबाट बाहिर निस्किन नसघाउने’ बताएका छन्।
स्टार्मरलाई पदबाट हटाउने षड्यन्त्र भएको दाबी गर्दै उनका सहयोगीहरूले नेतृत्व परिवर्तन गर्दा अवस्था झन् बिग्रिन सक्ने जोखिम रहेको चेतावनी दिएका छन्।
लेबर पार्टीका सांसदहरूले किअर स्टार्मरलाई हटाएर पार्टीको नेतृत्व लिन सक्ने सम्भावित व्यक्तिका रूपमा छलफल गरेकामध्ये उनीसँग निकट केही मन्त्रीहरू पनि छन्। त्यसका लागि स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङ र गृहमन्त्री शबाना महमूदको नाम पनि चर्चामा छ। कतिपयले ऊर्जामन्त्री एड मिलिब्यान्ड र भूतपूर्व यातायातमन्त्री लुईस हेगले पनि लेबर पार्टीको नेतृत्व लिन सक्ने अनुमान गरेका छन्।
‘लेबर पार्टीलाई चुनाव जिताउने र अहिले जीवित रहेका दुई नेतामध्ये उनी पनि एक हुन्। सत्र महिनापछि उनविरुद्ध उभिनु मूर्खता हुन्छ।’
स्कटल्यान्ड र वेल्सका संसदीय चुनाव र आगामी मे महिनामा इङ्ल्यान्डका धेरै भागमा हुने स्थानीय निर्वाचनपछि सरकार अप्ठ्यारोमा पर्न सक्ने कुरा लेबर पार्टीका कैयौँले केही महिनायता बुझेका छन्।
यी निर्वाचनमा लेबर पार्टीले नराम्रो परिणाम भोग्न सक्ने ठानिएको छ। तर ती निर्वाचनसम्म कुर्दा निकै ढिलो भइसक्ने चिन्ता व्यक्त गर्दै पार्टीभित्र केहीले अहिले नै शीर्ष नेतृत्व फेर्ने विषयमा सोच्नुपर्ने धारणा राखेका छन्।
एक वरिष्ठ लेबर सांसदले बीबीसीसँग भने, ‘स्थानीय निर्वाचनसम्म पर्खौँ भन्ने सुझाव राम्रो हो। तर त्यसो गर्दा पार्टीका कार्यकर्ताहरूलाई जोखिमतिर धकेल्नुपर्छ। हामी सबै स्थानीय प्रतिनिधिहरू गुमाउन सक्दिनँ।’
प्रधानमन्त्रीप्रति निकट मानिएका केही स्ट्रीटिङ महत्त्वाकाङ्क्षी बनेको ठान्छन्। यद्यपि स्ट्रीटिङका एक प्रवक्ताका अनुसार त्यस्ता दाबीहरू पूर्णतः असत्य हुन्।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया