काठमाडौं– नेपाली सेनामा प्राविधिक तर्फका सेनानी भिमसेन थापाको सेनाभित्रका ठेक्कापट्टामा मनोमानी बढेको छ । उनले नेपाली सेनालाई नै भार पर्ने गरी निमार्ण कार्यको ठेक्कामा सेटिङ गरेको पाइएको हो ।
उनले विभिन्न कागजात मिलाई ठेकेदारहरुलाई अलग अलग ठाउँमा बैठक राखी बाहिर रेस्टुरेन्ट तथा होटलहरुमा छलफल गरी ठेकेदारको सहजता अनुसार ठेक्का मिलाइदिने गरेको भन्दै सेनामा खैलाबैला मच्चिएको छ । उनले नियम विपरीत कागजात मिलाई विभिन्न ठेक्काहरु आफू निकट ठेकेदारलाई दिलाएर त्यस बापत कमिशन लिने गरेको पाइएको हो ।
बोल कबोलमा प्रतिस्पर्धा नै नगरी नेपाली सेनामा दिनरात अहोरात्र खटिने सिपाहीको पसिनाको रकम र शान्ती सेना मिशन बापतको कट्टा गरिएको सिपाहीहरुको रगत पसिनाको पैसा र नेपाली सेनाको कल्याणकारीको रकममा हालिमुहाली गरि ठेक्का बेच्ने र ठेक्का रकम बराबरको १५ प्रतिशातको दरले कमिशन लिेसम्मको खेलोमा लागेको स्रोतले जनाएको छ ।
सेनानी थापाले निमार्ण कार्यको ठेक्का विभिन्न ठेकेदारहरुसँग सेटिङ गरी आर्थिक नियमावली खरिद ऐन विपरीत ठेक्का बाँडफाँडमा कागजात मिलाई सेटिङ गर्ने गरेको स्रोतले जनाएको छ।
ठेक्का डकुमेन्ट्मा साईट भिजिट भन्ने शीर्षक राख्ने र निमार्ण स्थलको साईट भिजिटको लागि वातावरण समेत उनी आफैंले मिलाई दिने गरेको पाइएको हो । निमार्ण कार्य स्थलको युनिटलाई समेत सेनानी थापाले आफ्नो बशमा राखेका छन् ।
स्रोतका अनुसार उनले आफूले आदेश नदिएसम्म साइट भिजिट पत्र नदिनु भन्ने आदेश दिने गरेको र ठेक्का मिलाए बापत पहिले नै उक्त रकमको १० प्रतिशत कमिशन अग्रिम लिँदै आएका छन् ।
उनले ठेक्का सम्झौता भैसके पछि पनि विभिन्न बहाना गर्ने फिल्डमा काम गर्न दुख दिँदै आएको ठेकेदारहरुको गुनासो छ । प्राविधिक सेनानी थापाले माथि रकम बुझाउनु पर्ने भन्दै अनेकौं दबाब दिएर फेरि अर्को १० प्रतिशत कमिशन बापतको रकम लिएर मात्रै काम गर्ने वातावरण मिलाई दिने गरेको ठेकेदारहरुले दुखेसो व्यक्त गर्ने गरेका छन् ।
९८ हजार संख्याको मुलुककै गौरवमय ऐतिहासिक संस्था नेपाली सेनामा एउटा प्राविधिक सेनानीको मनोमानीले संगठनकै गरिमा माथि नै प्रश्न उठेको छ । यस विषयमा सैनिक नेतृत्वले के गरिहेको छ भन्ने प्रश्न खडा भएको छ । यत्रो कमिशनको धन्दामा लागेका प्राविधिक सेनानी थापालाई नेपाली सेनाले कानुनी दायरामा ल्याउँछ कि ल्याउँदैन भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
यसबारेमा प्रतिक्रिया लिन सेनानी थापालाई सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया