कुलमानलाई प्राधिकरणमा ल्याउन प्रचण्डले नै नचाहेको खुलासा ! लोडसेडिङ अन्त्यको जस लिन भने होडबाजी

विहीबार, २७ कार्तिक २०८२, ११ : ४६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नै अगुवाईमा उज्यालो नेपाल पार्टी गठन गरेपछि लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । पछिल्लो समय उर्जामन्त्री रहेका घिसिङले नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेपछि लोडसेडिङ अन्त्यको जस लिने होडबाजी सुरु भएको हो ।

सुशीला कार्की नेतृत्वको सरकारमा हाल उर्जा मन्त्री रहेका घिसिङले आफ्नै अगुवाइमा उज्यालो नेपाल पार्टी गठन गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । यद्यपि उनी उक्त दलको कुनै पनि कार्यकारी भूमिकामा देखिएका छैनन । उक्त दल गठनमा घिसिङको सक्रिय र प्रमुख भूमिका रहे पनि मन्त्री पदमा बहाल रहँदासम्म पार्टीको कुनै पनि जिम्मेवारी नलिने बताउँदै उनले त्यसपछि भने आफैंले नेतृत्व लिने तयारी गरेका छन् ।

२०७३ सालमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उर्जामन्त्रीमा पार्टीकै नेता जनार्दन शर्मा हुँदा घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसबेलाका उर्जामन्त्री शर्मासहित उर्जा सचिव अनुप उपाध्याय र घिसिङकै मिहेनतले मुलुक लोडसेडिङ मुक्त भएको थियो । तर अहिले भने त्यसको जस लिन पूर्वमाओवादी नेताहरु लागि परेका छन् ।

माओवादी लगायत अन्य दश ससाना वाम घटकहरु समाहित भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रहेका पूर्वमाओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डकै कारण मुलुक लोडसेडिङ मुक्त भएको बताइरहँदा त्यसबारे नयाँ तथ्य सार्वजनिक भएको छ । 

हाल एमालेका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्लाका इञ्चार्ज रहेका पूर्वमाओवादी नेता मनोजजंग थापाले आफ्नो फेसबुक स्टाटसमार्फत  विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङको नियुक्ति सम्बन्धमा प्रचण्डले गरेको दाबीलाई झुटो र पाखण्ड भनेका छन्।

थापाका अनुसार, प्रचण्डले आफ्नो कार्यकालमा सिन्धुलीको फिक्कलका खड्का थरका व्यक्तिलाई विद्युत प्राधिकरणको प्रमुख बनाउन चाहेका थिए, तर त्यसबेला उर्जा मन्त्री जनार्दन शर्माको पहलमा कुलमान घिसिङ नियुक्त भएका हुन्। थापाले संकेत गरेका खड्का भ्रष्टाचार आरोपी आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का हुन् ।

घिसिङको कार्यकालमा केही सुधारका कामहरू भए पनि त्यसको श्रेय घिसिङलाई आवश्यक वातावरण उपलब्ध गराउने मन्त्री जनार्दन शर्मालाई दिनुपर्ने थापाले बताएका छन् ।

यस्तै अर्का पूर्वमाओवादी नेता रजमान तामाङले समेत कुलमानलाई विद्युत प्राधिकरणको एमडि नियुक्ति गर्ने बेलामा निकै चलखेल बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत बताए अनुसार, तत्कालीन प्रधानमन्त्री प्रचण्डको असहमति र अनिच्छाको बाबजुद कुलमानलाई विद्युत प्राधिकरणको एमडि नियुक्त गरिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म कुलमान घिसिङको समर्थक होइन। तर कुलमान घिसिङले पार्टी दर्ता गरेर चलाएको हल्लाबारे केही चाहिँ भन्नै पर्यो। कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा एमडी नियुक्ति गर्ने बेला आयल निगमको घोटाला काण्डमा मुछिएका गोपाल खड्कालाई नियुक्ति गर्न भित्रि चलखेल भएपछि केही अड्चनहरू आए।’

साथै उनले तत्कालीन उर्जामन्त्री शर्माले तीन पटक कुलमानलाई नियुक्त गर्ने प्रस्ताव लैजाँदा नारायणकाजी श्रेष्ठको मान्छे भन्दै नियुक्ति गर्न प्रचण्डले असहमति जनाएको खुलासा गरेका छन् । उनले भनेका छन्, ‘तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मा ले तीन पटक प्रस्ताव लैजाँदा पनि निर्णय हुन सकेन। पछि कुलमान घिसिङलाई नारायणकाजी श्रेष्ठको मान्छे भएकोले नियुक्ति गर्न सकिदैन  भन्ने दबाब आयो। त्यो दबाब कहाँबाट आयो भन्ने पाठकले खोजबिन गर्नुहोस्।’

 
 
विहीबार, २७ कार्तिक २०८२, ११ : ४६

प्रतिक्रिया