रेसुंगा विमानस्थलमा हवाई सेवा पुनः सुरु, सातामा चार उडान हुने

विहीबार, २७ कार्तिक २०८२, १३ : ५९

काठमाडौं- गुल्मीको रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । 

नेपाल वायुसेवा निगम रेसुंगा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए । 

नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । 

विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । 

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ । 

 
विहीबार, २७ कार्तिक २०८२, १३ : ५९

प्रतिक्रिया