इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

शनिबार, २९ कार्तिक २०८२, ११ : ०५

काठमाडौं- “इको प्यानल” ट्रेडमार्कसम्बन्धी लामो समयदेखि चल्दै आएको विवादमा उद्योग विभागले यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.लाई एकल स्वामित्वको मान्यता दिँदै अन्तिम निर्णय सुनाएको छ। यससँगै विपक्षी इको प्यानल नेपाल प्रा.लि.लाई सो ट्रेडमार्क प्रयोग नगर्न स्पष्ट निर्देशन जारी गरिएको छ।

कम्पनीले विपक्षी पक्षले अवैध रूपमा सो ट्रेडमार्क प्रयोग गर्दै आएको दाबी गर्दै दायर उजुरीका आधारमा विभागले २०७९ साउन ११ र २०८० कात्तिक २० मा दुईपटक अन्तरकालीन आदेश जारी गरेको थियो। सो आदेशमार्फत विपक्षीलाई “इको प्यानल” ट्रेडमार्क प्रयोग तत्काल रोक्न निर्देशन दिइएको थियो।

दीर्घकालीन अध्ययन-अनुसन्धान र प्रमाणहरूको मूल्यांकनपछि विभागले २०८२ असार ३० मा अन्तिम निर्णय सुनाउँदै सो ट्रेडमार्कको स्वामित्व यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.कै एकल हकभोगमा रहने व्यवस्था गरेको हो। निर्णय कार्यान्वयनका लागि विभागले २०८२ असोज ३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं तथा विपक्षी कम्पनीलाई पत्राचार गरेको छ।

सार्वजनिक सुचनामा कम्पनीले सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारका उत्पादन, प्रचारप्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न–नगराउन सबै पक्षलाई चेतावनी दिएको छ। प्रचलित कानुन विपरीत अनधिकृत प्रयोग भएमा कम्पनीले कानुनी कारबाही अगाडि बढाउने स्पष्ट जानकारीसमेत गराएको छ।

 
शनिबार, २९ कार्तिक २०८२, ११ : ०५

प्रतिक्रिया