काठमाडौं- नेपाल राष्ट्र बैंकले स्वर्गीय डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा “डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान” विषयक एक दिने विचार गोष्ठी काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले डा. पन्तलाई नेपालको आधुनिक अर्थतन्त्रको जग बसाल्न निर्णायक भूमिका निर्वाह गर्ने दूरदर्शी नीतिकारको रूपमा सम्बोधन गर्दै उनका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकमा आधुनिक बैंकिङ संरचना निर्माणको थालनी भएको उल्लेख गर्दै रु. ५०० र रु. १००० का नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना तथा बैंकिङ सेवाको पहुँच विस्तारजस्ता योगदानहरू स्मरणीय रहेको बताए।
पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले डा. पन्तलाई “आधुनिक अर्थतन्त्रका चिन्तक” भन्दै उनीबाट भएका सुधारवादी आर्थिक प्रयासहरूको चर्चा गरे।
त्यस्तै, पूर्व गभर्नर गणेशबहादुर थापाले पन्तको कार्यकाललाई बैंकिङ सेवा विस्तारमा माइलस्टोनका रूपमा वर्णन गरे ।
कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराईलगायतले पन्तको व्यक्तित्व र योगदानका विविध आयाममा चर्चा गरे।

सो अवसरमा ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान’द्वारा तयार गरिएको डा. पन्तको जीवनीसम्बन्धी संक्षिप्त श्रव्य–दृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राखे भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्र सञ्चालन गरेका थिए। गोष्ठीको सञ्चालन गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनिले गरेका थिए ।
वि.सं. १९८२ मंसिर २ गते काठमाडौंमा जन्मिएका डा. यादवप्रसाद पन्तले २०२५–२०३० सालमा राष्ट्र बैंकका गभर्नर तथा २०३७–२०३९ सालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको थिए। राष्ट्र योजना आयोगका संस्थापक सदस्यसमेत रहेर उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय निकायसँग नेपालको सम्बन्ध विस्तारमा उल्लेखनीय भूमिका खेलेका थिए।
डा. पन्तको दीर्घ योगदानप्रति सम्मानस्वरूप नेपाल राष्ट्र बैंकले यस गोष्ठीको आयोजना गरेको हो ।
प्रतिक्रिया