काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवं छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानका लागि निरन्तर लागि परेको बताएका हुन् ।
‘हामी ९महासंघ०ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस् वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, संवाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,’ उनले भने ।
अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशीला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङलाई गरेको आग्रहलाई गम्भीरतापूर्वक लिएर समस्याको समाधानका लागि पहल लिएकोमा धन्यवाद समेत व्यक्त गरे ।
उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठुलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताए । त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठुला र बहुआयामिक आयोजनाहरूमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध संघसंस्थाहरू र त्यसका सदस्यहरूको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए । त्यस कम्पनीमार्फत ठुला र बहुआयामिक आयोजनाहरूमा लगानी गरी पूर्वाधार विकास, रोजगारी सिर्जना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरू लागेको उनको भनाइ थियो ।
हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठुलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउँदै उनले उक्त विध्वंसमा संलग्नहरूलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे । ुहामी सबैको साझा उद्देश्य मुलुकको विकास र समृद्धि हो, त्यसमा सबैको हातेमालो गर्न जरुरी छ,ु उनले भने ।
प्रतिक्रिया