चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा

आइतबार, ३० कार्तिक २०८२, १४ : ३२

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। 

यस अवधिमा भारततर्फको निर्यात १३६.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यस्तै समीक्षा अवधिमा चीनतर्फको निर्यातमा उल्लेख्य कमी देखिएको छ ।

भारतबाट आयात हुने वस्तुमा ७.५ प्रतिशत, चीनबाट आयात हुने वस्तुमा ३३.४ प्रतिशत र अन्य मुलुकबाट आयात हुने वस्तुमा ४६.५ प्रतिशतले वृद्धि देखिएको छ।

त्यसैगरी व्यापार घाटा भने १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो। वस्तुको निर्यात–आयात अनुपात अघिल्लो वर्ष ९.८ प्रतिशत रहेकोमा यस वर्ष १५.५ प्रतिशत पुगेको छ।

 
आइतबार, ३० कार्तिक २०८२, १४ : ३२

प्रतिक्रिया