काठमाडौं- पोखरास्थित बेगनास तालको परिसरमा नोभेम्बर १५ देखि १७ सम्म सम्पन्न XTERRA नेपालको पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको यस साहसिक–पर्यटकीय खेल उत्सवमा स्वदेशी तथा विदेशी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। अफ–रोड ट्रायथलन र ट्रेल रन समेटिएको यो प्रतिस्पर्धाले नेपाललाई नयाँ साहसिक–पर्यटन गन्तव्यका रूपमा स्थापना गर्ने महत्वपूर्ण आधार तयार गरेको आयोजकहरूको भनाइ छ।
खेलाडीहरूले एक–अर्कासँग कडा प्रतिस्पर्धा गर्नुका साथै बेगनास ताल क्षेत्रको प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण ट्रेलहरूको प्रशंसा गरेका छन्। स्थानीयको सक्रियता प्रशंसनीय आयोजक XTERRA नेपालका अनुसार, पहिलो संस्करण सफल पार्न स्थानीय समुदाय, स्वयम्सेवक, सरोकारवाला संस्था र सरकारी निकायहरूको उल्लेखनीय सहयोग प्राप्त भयो।
"समुदायको हातेमालोका कारण कार्यक्रमको रौनक अझै बढ्यो," आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
२०२५ मा दोस्रो संस्करण पहिलो संस्करणमा देखिएका केही कमजोरी र त्रुटिहरू सम्बोधन गर्ने प्रतिबद्धतासहित XTERRA नेपालले दोस्रो संस्करण २०२५ नोभेम्बर २९ मा आयोजना गर्ने निर्णय गरेको छ।
XTERRA एक विश्वव्यापी जीवनशैली तथा साहसिक–खेल ब्रान्ड हो, जसले अफ–रोड ट्रायथलन र ट्रेल रनमार्फत दिगो पर्यटन, समुदाय–केन्द्रित खेलकुद र प्रेरणादायी कथाहरूलाई प्रवर्द्धन गर्छ। जापान, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, चीन र अष्ट्रेलियामा आयोजना हुँदै आएका XTERRA प्रतियोगितामा नेपाल सातौँ एसियाली आयोजना–देश बनेको हो।
XTERRA ले विश्वभर वार्षिक १५० भन्दा बढी दौड आयोजना गर्छ। कार्यक्रममा सहभागी व्यावसायिक अन्तर्राष्ट्रिय खेलाडी Stuart Hayes र Ondrej Petiska ले नेपालका डाँडा–पाखाका अफ–रोड ट्रेलहरूको उच्च प्रशंसा गर्दै “Nepal is unique” भन्दै प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण मार्ग तथा नेपाली सांस्कृतिक अनुभवको विशेष उल्लेख गरे।
प्रतिक्रिया