काठमाडौं- साहस उर्जा लिमिटेडको १२ औं वार्षिक साधारणसभा मंसिर २४ गते हुने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद सेयरलाई संशोधन गरी हाल बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया