अपडेट

दुर्गा प्रसाईं मध्यराति पक्राउ, उपत्यकामा सुरक्षा व्यवस्था कडा

मंगलबार, ०२ मंसिर २०८२, ०७ : ३७

काठमाडौं– मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै पक्राउ गरेको हो ।

उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गर्दै उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

 
 
मंगलबार, ०२ मंसिर २०८२, ०७ : ३७

प्रतिक्रिया