सुदूरपश्चिममा धान खेतीको क्षेत्रफल घट्यो, उत्पादकत्वमा भने वृद्धि

मंगलबार, ०२ मंसिर २०८२, ११ : २७

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ।

खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो। कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व ३.५४ रहेको थियो ।

त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहुँको उत्पादकत्व २.२९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र हजार ११२ हेक्टरमा उत्पादन भएको कोदोको उत्पादकत्व १.१४ रहेको थियो ।

आव २०८०/८१ मा उत्पादन क्षेत्रफल घटे पनि उत्पादकत्व र उत्पादनमा वृद्धि भएको छ । उक्त आवमा धान उत्पादनको क्षेत्रफल चार हजार २४२ हेक्टर घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । एक लाख ७९ हजार ४६ हेक्टरमा धानखेती हुँदा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेर छ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व ३.७६ छ । एक लाख ३९ हजार ७३२ हेक्टरमा उत्पादन भएको गहुँको उत्पादकत्व वृद्धि भएर २.३५ पुग्दा तीन लाख २८ हजार ६९ मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, ४९ हजार २५८ हेक्टरमा मकै उत्पादन हुँदा उत्पादकत्व दुई दशमलव १७ रहेको थियो । मकैको उत्पादन वृद्धि भएर एक लाख छ हजार ९९७ मेट्रिक टन पुगेको छ । हरेक वर्ष उत्पादनको क्षेत्रफल घट्दा पनि उत्पादनमा वृद्धि हुँदै गएको निर्देशनालयको तथ्याङ्क छ। आव २०८२/८३ मा धान उत्पादनको क्षेत्रफल घटेर एक लाख ७७ हजार २३० पुग्दा उत्पादकत्व बढेर तीन दशमलव ८८ पुगेको छभने छ लाख ८६ हजार ८८७ मेट्रिक टन धान उत्पादन भएको छ ।

निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा बाली उत्पादनमा वृद्धि हुँदै आएको बताए। ‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै उत्पादन हुन्छ’, उनले भने, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण हरेक वर्ष उत्पादन र उत्पादकत्वमा वृद्धि भएको हो ।’ पछिल्लो समयमा सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ। यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान र प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको कृषि अधिकृतहरू बताउँछन्।

‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ’, सूचना अधिकारी पाण्डेयले भने, ‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा ४.५ प्रतिहेक्टर उत्पादकत्व रहेको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए। ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडानसमेत गर्ने गरेको उहाँले बताए। गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा सात सय ७६ साना सिँचाइ (ट्यूबेल जडान) गरेको थियो । ‘हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छौँ’ उनले भने, ‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ।’ उनका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

 
मंगलबार, ०२ मंसिर २०८२, ११ : २७

प्रतिक्रिया