सिद्धि स्मृति अस्पतालद्वारा भक्तपुर जिल्लाका शिक्षकहरूसँग छलफल कार्यक्रम सम्पन्न

मंगलबार, ०२ मंसिर २०८२, १७ : २४

काठमाडौं- भक्तपुरको भीमसेनस्थानस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाको स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान अध्ययन निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। 

जिल्लाभरका विद्यालयका शिक्षकहरूसँग मंगलबार आयोजित छलफल कार्यक्रममा अस्पतालले विशेषगरी समुदायमा आधारित महिला तथा बालस्वास्थ्यसम्बन्धी अध्ययनहरू गर्दै आएको जानकारी गराएको हो । 

अस्पतालअन्तर्गत बाल स्वास्थ्य अनुसन्धान परियोजनाका प्रमुख तथा बालरोग विशेषज्ञ डा. रामकृष्ण चन्द्योका अनुसार अस्पतालले काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालसँग सहकार्य गर्दै विविध अनुसन्धान गर्दै आएको छ। अस्पतालले हालै ६ देखि ११ महिनासम्मका बालबालिकामा देखिने रोग सम्बन्धी अध्ययन पूरा गरेको छ। त्यससँगै चार सय गर्भवती महिलाको स्वास्थ्य अवस्थामाथि पनि अनुसन्धान गरिएको छ।

नवीनतम अनुसन्धानपछि अस्पतालले जिल्लाका विभिन्न विद्यालयका साना कक्षाका शिक्षकहरूसँग छलफल तथा एकदिने कार्यशाला आयोजना गरेको थियो। साना बालबालिकासँग प्रत्यक्ष रूपमा कार्यरत भएकाले उनीहरूको सुझाव र अनुभव महत्त्वपूर्ण हुने अस्पतालले जनाएको छ।

अस्पतालको स्थापना इतिहास पनि विशिष्ट छ। सामाजिक अभियन्ता श्यामसुन्दर धोउँदेलका एकमात्र छोराको सवारी दुर्घटनामा कम उमेरमै मृत्यु भएपछि उनीकै स्मृतिमा सिद्धि स्मृति अस्पताल स्थापना गरिएको हो। 

उक्त घटना नभएको भए आजको अस्पताल अस्तित्वमा नआउन सक्ने जनाइएको छ। हाल अस्पताल र यसअन्तर्गतको वृद्धाश्रमले हजारौं बालबालिका र ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएका छन्।

 
 
मंगलबार, ०२ मंसिर २०८२, १७ : २४

प्रतिक्रिया