काठमाडौं- नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअप उद्यमशीलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवर्द्धनहरु लाभान्वित भएका थिए ।
सरकारले सुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रिया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवर्द्धनहरुलाई अभिमुखीकरण दिइएको थियो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ ।
चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रिया, कर्जा उपलब्ध गराइने क्षेत्र लगायतका विषयमा नवप्रवर्द्धनहरुलाई जानकारी दिएका थिए ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा वृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने उनको भनाई छ ।
स्टार्टअप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रवर्द्धनहरुको सफल कथाहरूलाई बाहिर ल्याउनुपर्ने एवं उनीहरूको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्टअप कर्जा सम्बन्धी थप अध्ययन अनुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए । महिला उद्यमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाई छ ।
प्रतिक्रिया