अपडेट

सिमरामा ४ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर, मालवाहक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अलपत्र

विहीबार, ०४ मंसिर २०८२, १६ : ४७

काठमाडौं- बाराको सिमरामा जेनजी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै सडकमा प्रदर्शन गरेका छन् ।

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन् । 

यस्तै, आन्दोलनका कारण यातायात क्षेत्र ठप्प भएपछि मालवाहक सवारीसाधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू घण्टौंदेखि बाटोमा अलपत्र परेका छन् ।

वीरगञ्ज भन्सारबाट छुटेका मालवाहक सवारी साधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू पथलैया–परवानीपुर सडकखण्डमा बिहानदेखि अलपत्र परेका हुन् । भन्सारबाट दैनिक ५ सयभन्दा धेरै ट्रक र ट्यांकरहरू छुट्ने गर्दछन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय बाराले जेनजी युवाहरूको प्रदर्शनका कारण परिस्थिति बिग्रन नदिनका लागि आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 
 

 
विहीबार, ०४ मंसिर २०८२, १६ : ४७

प्रतिक्रिया