खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४ औं वार्षिकोत्सव सम्पन्न

शनिबार, ०६ मंसिर २०८२, ११ : ००

काठमाडौं- मुलुकमा खानेपानी तथा सरसफाइका नीति, योजना र सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४ औं वार्षिकोत्सव आज मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रमा भएको लगानीले स्वास्थ्य क्षेत्रमा समेत गुणात्मक लाभ हासिल गर्न सकिने भएकाले खानेपानी तथा सरसफाइ सेवामा नागरिकको पहुँच तथा सञ्चालनको दिगोपना तर्फ ध्यान केन्द्रित गर्न विभागलाई निर्देशन दिए । 

सचिव शाक्यले देशमा विकसित नयाँ परिस्थितिलाई ध्यानमा राखी बहु वर्षीय तथा बहु आयामिक आयोजनामा केन्द्रित हुन आग्रह गर्दै विपद्बाट क्षतिग्रस्त आयोजनाहरू पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन मन्त्रालयले विशेष पहल गर्ने जानकारी दिए । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठले तराई मधेशको प्रमुख चुनौतीको रूपमा रहेको भूमिगत जलस्रोत व्यवस्थापनलाई बहुपक्षीय रूपमा अगाडि बढाउने गरी खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै सुनकोसी मरिन थोक वितरण प्रणालीलाई विभागले प्राथमिकतामा राखेको जानकारी दिए ।

महानिर्देशक श्रेष्ठले विगतका पारम्परिक अवधारणालाई क्रमशः नयाँ आयाम प्रदान गर्दै जलाशययुक्त आयोजना तथा जलवायु अनुकूलनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले सबै नागरिकको पहुँचमा सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी पु¥याउन विभागले बजेट, प्राविधिक क्षमता र संस्थागत सुधारका क्षेत्रमा जोड दिँदै आएको र आगामी दिनमा वैज्ञानिक महसुल प्रणाली, पानी स्रोत संरक्षण, गुणस्तर अनुगमन र सुधारलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगका अध्यक्ष रुद्र प्रसाद गौतमले खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बमोजिम खानेपानीको महसुल निर्धारण, कार्य सम्पादन सूचक तथा सम्बन्धित विषयमा सचेतना अभिवृद्धि र नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभाग र महसुल निर्धारण आयोगबीचको समन्वय एवम् सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निज क्षेत्रले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको २ प्रतिशत योगदानलाई खानेपानी क्षेत्रमा उपयोग गरी सार्वजनिक–निजी साझेदारीलाई सुदृढ गर्न निजी क्षेत्र इच्छुक रहेको जानकारी दिए । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहा निर्देशक माधव प्रसाद अधिकारीले स्वागत मन्तव्य राखे भने विभागका उपमहा निर्देशक नारायण प्रसाद आचार्यले विभागको स्थापनाकालदेखि हालसम्मको प्रगति तथा आगामी कार्यदिशाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रत्येक प्रदेशबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेवा प्रदायक संस्थाहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । सम्मानित हुने संस्थामा कोशी प्रदेशबाट उर्लाबारी खानेपानी तथा सरसफाइ संस्था (मोरङ), मधेस प्रदेशबाट सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (बारा), बागमती प्रदेशबाट लुभु खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (ललितपुर), गण्डकी प्रदेशबाट शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (पर्वत), लुम्बिनी प्रदेशबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (दाङ), कर्णाली प्रदेशबाट शुभ घाट खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (सुर्खेत), सुदूरपश्चिम प्रदेशबाट शिव नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (कैलाली) तथा बागमती प्रदेशबाट ज्वालामुखी ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड (धादिङ) गरी कुल आठ वटा सेवा प्रदायक संस्था रहेका छन् ।

सोही अवसरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै विभागबाट गतवर्ष सेवा निवृत्त भएका उपमहा निर्देशक द्वय जक्की अहमद अन्सारी र रामचन्द्र काफ्ले, सिनियर डिभिजनल इन्जिनियर सुमन कर्माचार्य, किशोर पन्थी र राम उद्गार यादव तथा इन्जिनियर सुनबहादुर गोपालीलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा खानेपानी मन्त्रालयका सहसचिव, पूर्व सहसचिवहरू, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता समिति, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले ५४ वर्षको यात्रामा सहरी तथा ग्रामीण क्षेत्रका खानेपानी पूर्वाधार विकास, सरसफाइ प्रवर्द्धन, पानी स्रोतको दिगोपन र गुणस्तर मापदण्ड कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

आगामी वर्षहरूमा संघीय संरचना अनुसार समन्वय, प्रविधिमैत्री सेवा तथा सबैका लागि दिगो पानी तथा सरसफाइ सुनिश्चित गर्न विभाग प्रतिबद्ध छ ।

 
शनिबार, ०६ मंसिर २०८२, ११ : ००

प्रतिक्रिया