व्यापार सहजीकरण एवं हवाई सेवा बिस्तारका लागि चेम्बरद्वारा श्रीलंकाका राजदूतसँग छलफल

मंगलबार, ०९ मंसिर २०८२, १७ : ०३

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाई सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । 

नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध ऐतिहासिक रहेको पृष्ठभूमीमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो ।

राजदूत डेल्पितीयासंग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार वार्षिक औसतमा मुस्किलले २ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए । नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तु आयात गर्दा शुन्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए । 

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुई पक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो ।

चेम्बरले सातामा कम्तीमा एउटा उडान श्रीलंका–लुम्बिनी एवं लुम्बिनी श्रीलंका सीधा हवाई सेवा सञ्चालन गरेर पर्यटकहरू आकर्षित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलंकाका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आकर्षित गर्न सकिने अध्यक्ष अग्रवालले बताए । यस्तै श्रीलंका भ्रमणका लागि जाने नेपाली पर्यटकहरूलाई फ्री भिसाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । 

 
मंगलबार, ०९ मंसिर २०८२, १७ : ०३

प्रतिक्रिया