हीरक जयन्तीका अवसरमा नेपाल चेम्बरद्वारा वाकाथन कार्यक्रम सम्पन्न

शनिबार, १३ मंसिर २०८२, १२ : ५०

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा आज वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्वारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट सुरु भएको वाकाथन कार्यक्रम  रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुँदै झोँछेमा गएर समापन भएको थियो । 

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरू, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिब ३ सय जनाको सहभागिता रहेको थियो ।

चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगाँठलाई भव्य रूपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरूको मनोबल उकास्नका लागि पनि यस्ता खाले कार्यक्रमहरू आयोजना गरिएको बताए ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरूको पर्वद्धन गर्न महत्त्वपूर्ण भएको बताए । चेम्बरको शिक्षा तथा खेलकुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिए । 

साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधि हरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

 
शनिबार, १३ मंसिर २०८२, १२ : ५०

प्रतिक्रिया