व्यावसायिक माहुरीपालनको आकर्षक गन्तव्य बन्दै दाङ

आइतबार, १४ मंसिर २०८२, १५ : ५९

दाङ– नेपालका धेरै गाउँहरूमा परम्परागत रूपमा गरिँदै आएको माहुरी पालन पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा विकसित हुँदै गएको छ । पर्याप्त चरन क्षेत्र, विविध फूल–बिरुवा, पर्वतीय भू–बनोट, र स्थानीय समुदायको सीपले यो पेशालाई दिगो आयस्रोतको रूपमा स्थापित गरिरहेको छ । मौसमका हिसाबले चिसो–न्यानो दुवै प्रकारको वातावरणमा अनुकूल हुने भएकाले नेपाल माहुरीपालनका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
    
तराईका वन क्षेत्रदेखि पहाडका जडीबुटी र जंगली फूलहरूले भरिएका चरन क्षेत्रसम्म, प्रायः सबै स्थान माहुरीका लागि उपयुक्त ठहरिएका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–१८ का व्यावसायिक माहुरीपालक चुर्ण ओली भन्छन्, “अघिसम्म हामीले यसलाई सानोतिनो साइड बिजनेसजस्तै गर्दै आएका थियौँ। अहिले महले बजार पाएकोले मह उत्पादन बढाउने योजनामा छौँ।”
    
उनले आफैंले सुरु गरेको १० घारको माहुरीपालन व्यवसाय अहिले व्यवस्थित रूपमा तुलसीपुर उपमहानगरपालिका १९ संग्राममा १०० भन्दा बढी घारसम्म विस्तार गरेका छन् । ओलीका अनुसार, कम लागतमा सञ्चालन हुने भएकाले माहुरी पालन मध्यम वर्गीय र साना किसानका लागि दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । “धेरै जग्गा आवश्यक नपर्ने, श्रम कम लाग्छ, र परिवारकै श्रम पर्याप्त हुने भएकोले यो पेशा आकर्षक बनिरहेको छ,” उनले थपे ।

ओली भन्छन्, “हाम्रो बस्तीमा परम्परागत रूपमा मह मात्र बेचिन्थ्यो। अहिले त स्थानीय कम्पनीहरू नै गाउँमै आएर उत्पादन उठाइदिन्छन्। आम्दानी हुने भएकाले गाउँमै बस्न प्रोत्साहन मिलेको छ ।” तर  माहुरी पालन ब्यबसाय राम्रो सम्भावना संगसंगै किसानहरूले केही चुनौतीहरू पनि भोगिरहेका छन् । कीट नियन्त्रणको ज्ञान अभाव, अनियमित मौसम, वर्षात्मक चरन क्षेत्रमा असर, गुणस्तरीय रानी माहुरी उत्पादन गर्ने प्रविधिको कमी, र बजारमा महमा मिसावट हुने समस्याले विश्वसनीयता कायम राख्न कठिनाइ सिर्जना गरेको  ओलीको भनाई छ ।

कृषि ज्ञान केन्द्रहरूले तालिम, बक्स वितरण र रोग व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेका भए पनि अझै व्यवस्थित नीतिगत कुरा लागु गर्नेपर्ने आवश्यक देखिन्छ । जैविक मह परीक्षण प्रयोगशालाको विस्तार भए उपभोक्ताले शुद्ध मह उपभोग गर्न पाउने छन् । 

दाङ पछिल्ला वर्षहरूमा माहुरीपालनका लागि देशभरका किसानको पहिलो रोजाइ बन्दै गएको छ। प्रशस्त चरन क्षेत्र, चिउरी र तोरी जस्ता मुख्य मौरी–बालीको उत्कृष्ट उत्पादन, र अनुकूल हावापानीले दाङलाई व्यावसायिक माहुरीपालकका लागि आकर्षक गन्तव्य बनाएको हो। कात्तिकदेखि मङ्सिरसम्मको चिसो मौसममा तोरी र चिउरी फुल्न सुरु हुने भएकाले मह उत्पादन उच्च हुन्छ ।     

यही कारणले चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बर्दिया र कैलालीबाट किसानहरू मौरीका घारसहित दाङ आउने क्रम बढ्दो छ ।सस्तो लगानी, उच्च सम्भावना र दिगो आयस्रोत भएकाले माहुरी पालन नेपालमा विस्तारै आकर्षक कृषि–उद्यमको रूपमा स्थापित हुँदैछ । प्रविधिक सहयोग, नीति सुधार, र किसान–सहकारीको समन्वय बलियो बनाउने हो भने यो क्षेत्र देशको कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सम्भावना बोकेको छ ।


 

 
 
 
आइतबार, १४ मंसिर २०८२, १५ : ५९

प्रतिक्रिया