सिंगटी हाइड्रोको ६१ मेगावाटको नारखोला आयोजनामा कुमारी सहित ५ बैंकले लगानी गर्ने

मंगलबार, १६ मंसिर २०८२, १२ : २९

काठमाडौं- सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाट क्षमताको नारखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 

आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ ।

आयोजनाको प्रबर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो । 

नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक  ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन  हुनेछ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत बिक्री गर्नेछ । ६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब  ८ किलोमिटर लम्बाइको रहनेछ ।

आयोजनाको बाँधका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । 

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा  ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपुजी ३ अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ । स्वपूँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

 
मंगलबार, १६ मंसिर २०८२, १२ : २९

प्रतिक्रिया