नेपालमा ग्रीन स्किल्स एडभाइजरी बोर्डको औपचारिक शुभारम्भ

मंगलबार, १६ मंसिर २०८२, १२ : ४२

काठमाडौं- नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ। यो बोर्ड प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीइटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी र विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरुको सहकार्यमा गठन गरिएको हो।

बोर्डले नेपालमा हरित सीपको बारेमा सचेतना फैलाउने, वातावरण मैत्री तालिम नीति निर्माणमा संवाद गर्ने, र तालिम प्रबर्द्धन तथा रोजगारीका अवसर सिर्जना गर्नका लागि ठोस कदम चाल्ने लक्ष्य राखेको छ। विशेषगरी दीगो कृषि, वातावरण मैत्री निर्माण, पर्यटन, र अन्य क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित बोर्डको स्थापना गरिएको हो।

बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापी रुपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्य सहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरु देखापरेको सन्दर्भमा यो पहलले महत्वपुर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्दै जानु पर्ने धारणा राखे । “नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनु पर्दछ ।” उनले भने । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नु पर्ने बताए । “हाम्रा उद्योग व्यवसायहरु पनि वातावरण मैत्री सीपको अबलम्बन गर्न तयार हुँदैछन । सीप बिकासलाई वातावरणमैत्री  बनाउनका लागि तालिम र रोजगारीमा योगदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार छ ।”, उनले भने,“जीसावको माध्यमबाट सार्वजनिक–निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिन्छ र नेपालको युवा शक्ति दिगो रोजगारतर्फ उन्मुख हुनेछ र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई यो प्रयासले पक्कै पनि टेवा पु¥याउने छ ।”

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा नेट जेरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । साथै उनले यस विषयमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने धारणा राखे ।

सिटीइभिटीका सदस्य सचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउन बोर्डले सहयोग गर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वातावरण मैत्री सीपको विकास, प्रवद्र्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका रवी सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यक्ता भएपनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्र्राथमिकता राख्नु पर्नेमा जोड दिए । 

ग्रीन स्किल्स एडभाइजरी बोर्डका सदस्य बिनोद बडालले हरित सीप नेपालको भविष्यको आवश्यकता भएको र सरकार निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बताए । सो अवसरमा जिसाबका संयोजक प्रमोद भक्त आचार्यले हरित सीपको विविध विषय नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतिकरण दिए । बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र निर्माण व्यवसायी महासंघ नेपालको संस्थागत प्रतिनिधित्व रहेको छ ।

कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लाई सन २०२५ को Going Global Partnership (GGP) Award पनि हस्तान्तरण गरिएको थियो । GGP Award उच्च शिक्षा र CTEVT को क्षेत्रमा ब्रिटिस काउन्सिलले प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ । 

यो वर्ष जम्मा १०५ आवेदनमध्ये  ब्रिटिस काउन्सिलबाट सहयोग प्राप्त ५ परियोजनाहरू छनौटमा परेका थिए । यस साझेदारीमा बेलायतका ४ संस्थाहरु तथा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ को नेतृत्वमा निजी तथा सार्वजनिक क्षेत्रका संस्थाहरू सम्मिलित छन् । उक्त अर्वाड  नेपालमा हरित सीप विकास तथा सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यका लागि गरेको पहलको फलस्वरूप going global conference 2025 मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवले ग्रहण गरी उक्त दिन महासंघलाई हस्तान्तरण गरेका थिए । 

सन् २०२४ को अप्रिलमा ब्रिटिस काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूको सम्मेलनले नेपालमा हरित सीप प्रवर्द्धन गर्नको लागि बेलायतको नमुनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नु पर्ने निष्कर्ष निकालेको थियो । जिसाबलाई ब्रिटिस काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ ।  बेलायत स्थित Exeter कजेल लगायतका संस्थाहरूको हरित सीप सम्बन्धी अनुभव र सल्लाह मार्फत एडभाइजरी सहयोग प्रदान गरिरहेका छन्  ।

 
मंगलबार, १६ मंसिर २०८२, १२ : ४२

प्रतिक्रिया