लुम्बिनी र रामग्राममा मंसिर २५ देखि तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ हुने

मंगलबार, १६ मंसिर २०८२, १६ : १७

काठमाडौं- ‘समृद्ध भविष्यका लागि शान्ति’को आह्वानसहित मंसिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ ।  आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक संस्थाले कार्यक्रमको बारेमा जानकारी दिएको हो । 

कार्यक्रममा विश्वका २५ अर्बपतिहरू नेपालमा अवसरहरू अन्वेषण गर्न आफ्नो पहिलो सामूहिक भ्रमणमा भेला हुने कार्यक्रमको मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिएकी छिन् ।

बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको अक्षुण्ण अवशेष रहेको रामग्राममा अवस्थित विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करणमा नेपालको आध्यात्मिक सम्पदा, शान्ति र समृद्धिलाई केन्द्रमा राखिएको छ । 

साथै संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यहरू, विशेषगरी एसडिजी–१६ शान्ति, न्याय र बलियो संस्थाहरूको भावनासँग नजिकबाट मिल्दोजुल्दो रहेको आयोजक दाबी छ । 

न दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण र दैनिक नेतृत्वसम्बन्धी युवा र समुदाय–केन्द्रित सत्रहरू गरिनेछ । महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरुका सवालमा बहस, रचनात्मकताको उपचार र एकताबद्ध शक्तिलाई उजागर गर्ने सांस्कृतिक प्रदर्शन, सङ्गीत र कलात्मक प्रदर्शनी हुनेछन् ।

विश्व शान्ति कार्यक्रम २०२३ मा सुरु भएको थियो । जसमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनीको आफ्नो ऐतिहासिक भ्रमण गरेका थिए ।

तेस्रो संस्करणको शान्ति कार्यक्रममा तीन देशका पूर्वराष्ट्रप्रमुखको पनि आगमन रहने संयोजक खतिवडाले जानकारी दिएकी छिन् । सो कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड प्रवर्द्धनात्मक र काठमाडौं विश्वविद्यालयले शैक्षिक साझेदारी गरेको छ । 

कार्यक्रमको दोस्रो दिन रामग्राम स्तूपामा एक प्रमुख दीप अर्पण गर्ने आयोजकको तयारी छ । कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, सङ्गीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि सञ्चालन हुनेछ ।

आयोजक संस्थाका अध्यक्ष निकेश अधिकारीले लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
 

 
मंगलबार, १६ मंसिर २०८२, १६ : १७

प्रतिक्रिया