काठमाडौं- बज्रयोगिनी अपांगमैत्री सहकारी संस्थाले स्वास्थ्य शिविर सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रही नगर स्तरीय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपांगमैत्री सहकारी संस्थाले आयुर्वेदिक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायिक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेका थिए ।
अपांगता भएका व्यक्तिहरूको ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आयोजित शिविरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अपाङ्ग, ६० वर्ष माथिका ज्येष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरेको बताए । नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिवसका अवसरमा स्वास्थ्य शिविर राखेर पुण्य काम गरेको बताए ।
कार्यक्रमका विशेष अतिथि उपप्रमुख सिता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले अपांगता भएका व्यक्तिहरूका लागी विशेष कार्यक्रम गरिरहेको बताउँदै अपांगता भएका व्यक्तिको क्षमता सपाङ्गभन्दा कम नभएको आफूले पाएको बताए ।
वडा अध्यक्ष उद्धव नेपालले अपांगता दिवसमा अन्तरक्रिया गरेर मनाइरहेको सन्दर्भमा बज्रयोगिनी अपांगमैत्री सहकारी संस्थाले स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गरेर मनाउन लागेकोमा विशेष धन्यवाद दिए । कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको हक हित र संरक्षणका लागी अग्रणी भूमिका खेलेको भन्दै अम्बर बहादुर घले लगायत स्वास्थ्य शिविरमा सेवा दिने स्वास्थ्य कर्मीहरूलाई सम्मान गरिएको थियो ।
चतुर बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगर अपाङ्ग समन्वय समितिका दीपक अर्याललगायत अपांगता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो । समाजसेवी भूपेन्द्र थापाका पहलमा नगर भरिका ७८ जना अपांगता भएका व्यक्तिले न्यानो कपडा पाएका थिए । लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पूर्व अध्यक्ष भगवान खड्का, कवीन्द्र दुलाल लगायतका टोलीहरूले न्यानो कपडा वितरण गरेका थिए ।
प्रतिक्रिया